इटहरीका शुभेच्छु देवान नेपाली काँग्रेसका उदीयमान युवा नेता हुन्। उनको राजनीतिक यात्रा स्थानीय स्तरबाटै सुरु भएको हो, जसले उनलाई पार्टी र जनतासँग जोडिदिएको छ।
१४औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ (क) को सभापतिमा विजयी भएपछि उनी काँग्रेसभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्ने मजबुत आवाजका रूपमा स्थापित भएका छन्।
सभापति निर्वाचित भएयता उनले आयोजना गरेका कार्यक्रमहरूले पार्टीमा नयाँ ऊर्जा र उत्साह भित्र्याएका छन्। युवा लक्षित र पार्टीलाई समेत चलायमान बनाउने उद्देश्यले दर्जनौँ कार्यक्रमहरू गरिसकेका छन्। उनी भन्छन्, “क्रियाकलापहरू केवल आयोजनाहरू मात्र होइनन्, तिनले युवाहरूलाई पार्टीसँग जोड्ने र विचारको आदानप्रदान गर्ने प्लेटफर्म बनेका छन्।”
उनीसँग प्रदेश खबरले गरेको कुराकानीको सारसंक्षेप:
नेपाली काँग्रेसमा देखिएका विकृति र असन्तुलनबारे तपाईँको धारणा के हो? साथै, नयाँ पुस्तालाई अवसर दिनेबारे तपाईँको विचार के छ?
“पार्टीमा अग्रजहरूको अनुभव अमूल्य छ, तर नयाँ पुस्तालाई अवसर दिने बाटो पनि उत्तिकै खोल्नुपर्छ। यही सन्तुलनले काँग्रेसलाई मजबुत बनाउँछ,”।
जेनजी आन्दोलन पश्चात् पार्टीमा नहुनु पर्ने धु्रबिकरण भएको छ । “हाम्रो लक्ष्य पार्टीलाई मात्र होइन, जनतासँग जोडिनु हो। अस्वाभाविक हस्ताक्षर र शक्ति दुरुपयोग काँग्रेसको मूल मूल्यलाई कमजोर बनाउँछ।”
भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनलाई तपाईँले कसरी व्याख्या गर्नुभएको छ? के तपाईँका दृष्टिमा यो आन्दोलन नेतृत्व परिवर्तनको हतार मात्र हो वा नयाँ पुस्तालाई संस्थागत रूपमा अघि बढाउने अवसर पनि हो? साथै, विशेष महाधिवेशनको मागबारे तपाईँको धारणा के छ?
भाद्र २३ र २४ गते उठेको जेनजी आन्दोलनले नेपाली काँग्रेसभित्र पुस्तान्तरणको बहसलाई फेरि चर्काएको छ। यो आन्दोलन युवाहरूको असन्तुष्टिको प्रतीक बनेको थियो, जसले पार्टी नेतृत्वमा नयाँ पुस्ताको मागलाई जोडदार रूपमा उठायो। यो आन्दोलन केवल नेतृत्व बदल्ने हतार मात्र होइन।
यो नयाँ पुस्तालाई संस्थागत स्वीकृति, वैचारिक मार्गदर्शन र पार्टी संरचनामा समायोजन गर्ने ऐतिहासिक जिम्मेवारी हो। जेनजी आन्दोलनको भावना पूर्ण सम्मानयोग्य छ, तर हस्ताक्षरको प्रतिशतका आधारमा विशेष महाधिवेशनको हतारले पार्टीलाई झन् नराम्रो अवस्थामा पुर्याउँछ।
“नयाँ पुस्ता पार्टीमा उभिनुपर्छ भन्ने जेनजी आन्दोलनको भावनालाई म सम्मान गर्छु। तर ५२ प्रतिशत हस्ताक्षरको चर्चा गर्दै विशेष महाधिवेशनको हतार गरेर रूपान्तरण हुँदैन। एक व्यक्तिलाई हटाएर अर्को व्यक्तिलाई सभापति बनाउनु मात्र परिवर्तन होइन।”
नेपाली काँग्रेसभित्र उठिरहेको विशेष महाधिवेशनको मागलाई तपाईँ कसरी हेर्नुहुन्छ?
विशेष महाधिवेशनको माग आफैँमा गलत नभए पनि, प्रक्रिया र उद्देश्य स्पष्ट नहुँदा त्यसले गुटबन्दीलाई अझ गहिरो बनाउने जोखिम छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको भविष्यका रूपमा म स्वीकार गर्छु, तर भविष्य निर्माणका लागि प्रवेश र निकास दुवै खुला हुनु पर्दैन?
नेपाली काँग्रेसभित्र अहिले विशेष महाधिवेशनको माग तीव्र बनेको छ। तर, यो मागलाई पार्टीको "हिजोको अभ्यासको निरन्तरता" भनेर व्याख्या गर्ने प्रयास सही छैन। इतिहासले देखाउँछ—विशेष महाधिवेशन बोलाउने अधिकार सधैँ सिटिङ्ग प्रेसिडेन्टकै हातमा रहेको छ।
विगतमा सुवर्ण शमशेरले बीपी कोइराला सभापति बनाउन आग्रह गर्दै विशेष महाधिवेशन बोलाउनु भएको प्रसङ्गलाई उल्ट्याएर प्रस्तुत गरिएको देखिन्छ। त्यो निर्णय नैतिक भावनाले निर्देशित थियो, व्यक्तिगत महत्त्वाकाङ्क्षाले होइन। तर अहिलेको परिस्थितिमा भने पार्टी नेताहरू जिम्मेवारी र शालीनता देखाउनुपर्ने बेलामा उल्टै राजनीतिक महत्त्वाकाङ्क्षा बढी देखिएको छ।
यो केवल प्रक्रियाको कुरा मात्र होइन, गम्भीर नैतिक प्रश्न पनि हो। त्यसैगरी, ४० प्रतिशत हस्ताक्षर भएको दाबीलाई पनि गम्भीर रूपमा परीक्षण गर्न जरुरी छ। ती हस्ताक्षरहरू साँच्चिकै देशभरका कांग्रेस कार्यकर्ताको जनादेश हुन् कि होइनन् भन्ने स्पष्ट हुनुपर्छ।
उदाहरणका लागि, म सुनसरी क्षेत्र नं. २ ‘क’ को सभापति हुँ, तर यहाँका सभापतिहरूलाई हस्ताक्षर अभियानबारे कुनै औपचारिक जानकारी छैन। वडास्तरका संरचनाहरूलाई सोधिएको छ? उनीहरूको म्यान्डेट के हो भनेर जवाफ खोजिएको छ?
के जेनजी आन्दोलनको आक्रोशलाई संस्थागत र दीर्घकालीन दिशामा रूपान्तरण गर्न नेतृत्व असफल भएको हो? र पार्टीभित्र दाइ–गुटको प्रभुत्वले भविष्यमा वैचारिक र लोकतान्त्रिक स्वास्थ्यमा खतराको सङ्केत त होइन?
यदि पार्टी रूपान्तरण चाहिने हो भने त्यो सर्वव्यापी छलफल र सङ्गठनको आधारभूत तहसम्मको सहभागिताबाट सम्भव हुन्छ, केही व्यक्तिले बन्द कोठामा कागजी हस्ताक्षर सङ्कलन गरेर होइन। नेतृत्व परिवर्तन मात्र रूपान्तरण होइन। shortcut बाट एउटा नेतालाई हटाएर अर्को राख्ने प्रक्रियाले पार्टीमा सुधार आउँछ भन्ने कल्पना भ्रम हो।
यहाँ आवश्यक छ — लोकतान्त्रिक अभ्यास, सहमति, विचारको बहस र सङ्गठनको बृहत् सहभागिता। तर, हामी अनौपचारिक, हतारिएको र शक्ति–केन्द्रित प्रक्रियातिर हिँडिरहेका जस्तो देखिन्छ, जुन पार्टीको संस्थागत संस्कृतिका लागि खतराको सङ्केत हो।
“महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा हाम्रो भविष्य हुन्, तर भविष्य तयार पार्न प्रवेश र निकास दुवै खुला हुनुपर्छ। केवल निकासको कुरा गर्दै प्रवेश बन्द गरिए कांग्रेस खाली हुँदै जानेछ।”
यो तर्कले पार्टीको दीर्घकालीन स्वास्थ्यलाई प्राथमिकता दिन्छ। जेनजी आन्दोलनले उठाएका मुद्दाहरू जायज छन्, तर दोस्रो दिनको अराजकता निराशाजनक रहेको उनको मत छ।
काँग्रेसमा पुस्तान्तरण किन केवल नेतृत्व परिवर्तनका लागि मात्र हो? कि नयाँ नीति, विचार र संस्थागत रूपमा पनि जोडिनुपर्छ?
“नवयुवाहरूमा आक्रोश छ, तर आन्दोलन सधैँ डक्ट्रिन उत्पादनका लागि मात्र हुँदैन भन्ने देखियो। यो आँट र असन्तुष्टिलाई संस्थागत दिशा दिन असफल हुनुमा पार्टी नेतृत्वको जिम्मेवारी छ। विचारका आधारमा गुट हुनु स्वाभाविक हो, तर दाइ–गुट हाबी हुनु भने चिन्ताको विषय हो।
नेतृत्वमा केवल 'नयाँ अनुहार' होइन, 'नयाँ नीति' र 'सुदृढ प्रणाली' चाहिन्छ भन्ने मेरो मापदण्ड सरल तर गम्भीर छ। “पुस्तान्तरण भनेको देउवा हटेर गगन आउनु मात्र होइन,” देवानको तर्क छ, “काँग्रेसलाई भविष्यको लोकतान्त्रिक मापनअनुसार वैचारिक र संस्थागत रूपमा तयार पार्नु हो।”
कांग्रेस संयमित भएकै कारण जनतामा भय न्यून भएको दाबी छ। “१५औँ महाधिवेशन काँग्रेसका लागि मात्र होइन, जनताको लागि पनि अवसर हो। हतारको भावना होइन, विचार, नीति र पुस्ताको सम्मानजन्य मार्गदर्शन आवश्यक छ।”
युवा पुस्तालाई 'विशेष रिजर्भेसन'का रूपमा अघि ल्याउनुपर्छ। संस्थागत, वैचारिक र योजनाबद्ध पुस्तान्तरण नै लोकतान्त्रिक पार्टीको पहिचान हो।
प्रतिक्रिया