पछिल्ला बर्षहरु विश्वका लोकतान्त्रिक देशहरु जेनजी विद्रोहको चपेटामा छन्। सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका डिजिटल युगका सन्तानका रुपमा रहेका जेनजीहरु सूचनाप्रविधिप्रति सचेत मात्र छैनन् विश्वव्यापी संजालसँग जोडेर आफ्ना अधिकारप्रति उत्तिकै संवेदनशील पनि छन्।
आफ्ना असन्तुष्टि व्यक्त गर्ने तरिका परम्परागत भन्दा फरक ढंगले प्रश्तुत हुने गरेका छन्। उनीहरुको स्वाभाव र मागलाई सम्बोधन नगर्दा कतिपय मुलुकहरुमा असहज परिस्थिति सिर्जना भएको छ।
सत्ता ढल्नु मात्र नभइ शासकहरुले देश नै छाडेर भाग्नुपर्ने अवस्था सिर्जना भएको प्रशस्त उदाहरणहरु छन्। बंगलादशे, पेरु, केन्या, इन्डोनेसिया, मोरक्को, माडागास्कर, जर्मन जस्ता देशहरुमा जेनजी विद्रोहले ठूलै उथलपुल ल्याएको छ।
नेपालमै पनि भदौ २३ र २४ गतेको घटनाले २४ घण्टा नबित्दै राज्यलाई तहसनहस पारिदियो र शासकहरु अज्ञात बन्न बाध्य भए। हरेक नागरिकलाई स्वतन्त्रता, समान अवसर, न्याय र सम्मान सुनिश्चित गर्नुको साटो मुलुकमा संस्थागतरुपमै बेथिति र भ्रष्टाचार, कुशासन र विभेद व्याप्त हुँदा देशले अकल्पनिय दुरदशा भोग्न बाध्य भयो।
दलीय साथै संसदीय प्रणाली भएको र सवल लोकतन्त्रको अभ्यास गर्दै गरेको नेपालमा जेनजी विद्रोहले ठूला र शक्तिशाली मानिएका राजनीतिक दलहरु क्षतविक्षत अवस्थामा गुज्रिरहेका छन्। पछिल्ला दिनमा दलहरु फुटको अवस्थामा छन्।
नेपालमा लोकतन्त्रको विउ रोप्ने र लोकतान्त्रिक समाजवादको सिद्धान्त अवलम्बन गर्ने नेपाली कांग्रेस पनि यतिबेला मत विभाजनको अवस्थामा छ। जेनजी विद्रोहको तातो माहोलमा नेतृत्व हत्याउन चाहने पक्ष र विधि एवम सिद्धान्तका आधारमा नीति र नेतृत्व परिवर्तन गर्ने पक्षबीच टकराव बढीरहेको छ।
विचार र नीतिमा भन्दा पनि उमेर समूहका आधारमा नेतृत्व प्रदान गर्नुपर्छ भन्ने पक्षले कांग्रेसभित्र हलचल पैदा गराएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, नातावाद र जनताको आवाज दबाउने प्रवृत्तिविरुद्ध उठेको जेनजी आन्दोलनले देशको राजनीतिक संरचना त हल्लायो नै शीर्ष पार्टी नेपाली कांग्रेसभित्र पनि विग्रह जन्माइसकेको छ। जनताको अधिकारका निम्ति लड्ने र बलिदान गर्ने पार्टीका रूपमा गहिरो विरासत बोकेको कांग्रेस यतिबेला संकटको अवस्थामा छ।
नेतृत्व परिवर्तनको वहस केवल असन्तुष्ट सिमित व्यक्ति वा कार्यकर्ताको होइन। नवयुवा वा युवा पुस्ताको सामूहिक आवाज हो। संवेदनशील र गम्भीर परिस्थितिमा कांग्रेसले नयाँ पुस्ता वा नवयुवाको आवाज सुन्न सकेन भने पार्टीको अस्तित्व नै संकटमा पर्न सक्ने खतरा देखिएको छ।
नेतृत्वको हठका कारण पार्टी विभाजन हुने हो कि भन्ने त्रास उत्तिकै छ। यस्तो अवस्थामा नेतृत्व नफेरिने, पूरानै अनुहार दोहोरिने र नयाँ सोचलाई अवरोध गर्ने जुन प्रवृत्ति छ, त्यसलाई तत्काल उखेल्नु पर्ने अवस्था कांग्रेसमा देखिएको छ।
युवा मतदातामा पार्टीप्रति वितृष्णा, कार्यकर्तामा उत्साह घट्दै जानुले पार्टी दिशाहीन हुँदै गएको हो कि भन्ने त्रास बढेका बेला कांग्रेस रिफ्रम गर्नुपर्ने देखिन्छ। नेतृत्व परिवर्तनको वहस अब केवल असन्तुष्ट केही व्यक्ति वा कार्यकर्ताको होइन युवा पुस्ताको सामूहिक आवाज हो भनेर बुझ्न जरुरी छ। संवेदनशील र गम्भीर परिस्थितिमा कांग्रेसले नयाँ पुस्ता वा नवयुवाको आवाज सुन्न सकेन भने पार्टीको अस्तित्व नै संकटमा पर्न सक्ने खतरा देखिएको छ।
जेनजी आन्दोलनपछि कांग्रेस नीति, विधि र सिद्धान्तमा भन्दा पनि व्यक्ति केन्द्रीत देखिन्छ। गगन-विश्व, गुरु-प्रदिपको तह र खड्का-कोइराला-सिटौला तहबीचमै मत भिन्नताहरु प्रशस्त देखिन्छन्।
महाधिवेशन गराउने सवालमा नेताहरु स्पष्ट छैनन्। विशेष महाधिवेशन पक्षधरहरु नेतृत्व मात्र परिवर्तन गर्ने पक्षमा देखिन्छ भने, नियमित महाधिवेशनका पक्षधरहरु तल्लो तहदेखि नै नेतृत्व परिवर्तन खोजीरहेका छन्। कांग्रेस नेताहरुको तहगत बुझाइ, सोचाइ र प्रवृत्तिगत समस्याहरु जगडिदै गएको स्पष्ट देख्न सकिन्छ।
यसले गर्दा पार्टीको आन्तरिक लोकतन्त्र, संगठनभित्रको अनुशासन र जवाफदेहिता सुनिश्चित गर्ने काम अन्योलमा परेको देखिन्छ। भ्रातृ संगठनहरुको नियमित अधिवेशन नहुँदा संगठन गतिहीन देखिन्छन्। यस्तो बेला कांग्रेसलाई जरादेखि नै रुपान्तरण गरेर अघि बढ्नुपर्ने अवस्था आइसकेको छ। सशक्त युवा सङ्गठन, नीतिगत स्पष्टता र गुटभन्दा माथि उठेर काम गर्ने बेला आएको छ।
यस्तो संवेदनशील अवस्थामा पुगेको सात दशक पूरानो पार्टी कांग्रेसभित्र सुधारको एजेन्डा कार्यान्वयनमा देखिनुपर्छ। नीति निर्माण, सङ्गठनभित्रको अनुशासन र भ्रष्टाचारविरुद्धको स्पष्ट र निर्भीक अभियान आवश्यक देखिएको छ।
इतिहासको यस्तो निर्णायक मोडमा पुगेको कांग्रेसले नियमित वा विशेष महाधिवेशनमार्फत सङ्गठनभित्रको आत्ममूल्यांकन गर्दै नेतृत्वको पुनर्संरचना र सुधारको स्पष्ट एजेन्डा तय गर्न ढिला गर्न हुँदैन्। पार्टीको पुनर्जागरण गर्न व्यक्ति केन्द्रीत होइन, नीति र विधि केन्द्रीत अभियान चलाएमात्र देशले नयाँ मार्गदिशा कोर्न सक्छ।
जेनजी विद्रोहपछि बनेको सरकारलाई समेत सही ट्रयाकमा हिडाउने जिम्मेवारी कांग्रेसमा रहेकाले देशलाई बंगलादेश हुनबाट जोगाउन सक्नुपर्छ। त्यसका लागि आवधिक महाधिवेशन र आवधिक राष्ट्रिय निर्वाचन जरुरी छ।
खासमा जेनजी आन्दोलनको मुल एजेण्डा नै सुशासन, पारदर्शिता, जवाफदेही नेतृत्व र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित थियो। नेपालमा पछिल्ला दशकहरूमा भ्रष्टाचारले अत्यन्तै विकराल रूप लिएको मात्र थिएन्, जरो नै गाडेर बसेको थियो। वडा तहमा सरकारी निकायदेखि ठूला परियोजनासम्म, शिक्षा र स्वास्थ्यदेखि कानुन तथा सुरक्षा क्षेत्रसम्म भष्ट्राचार ब्याप्त छ। देशले बिकासको गति लिन नसक्नुमा यसको गहिरो प्रभाव देखिन्छ।
नेपाली नागरिकताको प्रमाणपत्र बनाउँदादेखि माथिल्लो तहका जुनसुकै काममा पनि बिना भष्ट्राचार स्थानीयको काम अवरोध हुने गरेको छ। जेनजी आन्दोलनको निशानामा राजनीतिक दलका नेताहरु बढी टार्गेटमा परेको भएतापनि कर्मचारी प्रशासन पनि भष्ट्राचारमा लिप्त छन्।
त्यसैले भष्ट्राचारको अन्त्यका लागि यस सरकारले यथाशिघ्र ठोस कदम चाल्नुपर्ने अपरिहार्य छ। यस्तो अवस्थामा कांग्रेसलाई आन्तरिक लडाइँमा अलमलिने छुट छैन्। नवयुवाको प्रतिनिधित्व गराउने सवालमा पार्टी विधानमै संशोधन जरुरी देखिन्छ। आन्दोलनको म्यान्डेटलाई सम्बोधन गर्ने ठूलो जिम्मेवारी कांग्रेसलाई नै छ।
यस्तो अवस्थामा पार्टीको अधिवेशनलाई लिएर अल्झिने, गुटगत राजनीति गर्ने, व्यक्तिगत इगोमा रुमलिएर नेतालाई खुइलाउने काम बन्द हुनुपर्छ। किनकी देश संकटमा पर्दा सम्हाल्ने र सही बाटोमा डोहोर्याउने काम कांग्रेसकै टाउकोमा छ।
(नेपाल विद्यार्थी संघका नेता चाम्लिङ डेमोक्रेटिक जेनजी फोरमका संस्थापक सदस्य हुन्)
प्रतिक्रिया