कांग्रेस बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराएका छन् । 

“महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री गगन थापाको प्रस्ताव आएको छ, वैशाख २७ गतेदेखि ३० गतेसम्म गरौँ भन्ने सहमहामन्त्री महेन्द्र यादवको अर्को प्रस्ताव आएको छ, एउटै बनाउने प्रयास जारी छ, पुस १६ मा हुने भयो भने तीव्र तयारी आवश्यक छ,” सहमहामन्त्री पाण्डेले भनेका छन् । 

बैठकमा महामन्त्री गगनकुमार थापाले गरेको प्रस्तावअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका पेस भएको छ ।

यस्तै सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको कार्यतालिकाअनुसार २०८२ चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते सङ्घीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सात प्रदेश अधिवेशन र २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५ औं केन्द्रीय महाधिवेशनको प्रस्ताव भएको पाण्डेले जानकारी दिए । 

सहमहामन्त्री पाण्डेले विशेष महाधिवेशन पक्षधरहरूको मागलाई सम्बोधन गर्न पनि पुसमा महाधिवेशन आवश्यक छ भन्ने धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिइरहेको धारणा राखे । 

अर्का सहमहामन्त्री किशोरसिंह राठौरले देशका सबै निकाय जलेको बेलामा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ भन्ने धारणा राखे । 

केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले सबै विचारलाई सम्बोधन गर्दै देशको नेतृत्व गरेर सबै पार्टीलाई विश्वस्त हुनसक्ने वातावरण तयार पार्नुपर्ने बताए । 

केन्द्रीय कार्यसमितिको बैठक भोली पुनः बस्ने छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार