मोरङ । मोरङको कटहरी गाउँपालिका–४ जामुनगाछीस्थित जय हनुमान ओयल इण्डस्ट्रिज प्रालिमा शुक्रबार मध्यराति आगलागी हुँदा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार राति करिब १२ बजेर १० मिनेटको समयमा उद्योगमा ग्यास लिक भएर आगलागी भएको हो। आगलागीमा परेर फ्याक्ट्रीका जीएम भारत घर भएका ३० वर्षीय अर्जुन पण्डित, कामदार मोरङ कटहरी–४ का २२ वर्षीय दिपक कामत र पर्सा वीरगञ्जका २९ वर्षीय अलि आलम घाइते भएका छन्।
तीनै जनालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अर्जुन पण्डितको अनुहार, दुवै हात र ढाडमा मध्यम रूपमा जलन भएको छ भने दिपक कामतको अनुहार, हात र खुट्टा जलेको छ। यस्तै, अलि आलमको घाँटी, हात र कपालमा सामान्य जलन भएको छ।
प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले आगो मध्यराति १२ बजेर ५५ मिनेटमा नियन्त्रणमा ल्याएको थियो। आगलागीबाट ग्यास सिलिण्डरमा क्षति पुगेको र अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया