इटहरी : जेनजी आन्दोलनको धुलो नउठ्दै इटहरी उपमहानगरपालिकाले वारुणयन्त्र खरिद गर्ने निर्णय गरेको थियो। तर, वारुणयन्त्र किन्ने बजेट अभावका कारण सो निर्णय अहिले पूर्ण रूपमा ‘अलपत्र’ परेको छ।
नगर कार्यपालिकाको १५१औँ बैठकले आन्दोलनपछि तत्कालै वारुणयन्त्र खरिद गर्ने निर्णय गरेको थियो। जेनजी आन्दोलनको क्रममा नगरका दुईवटा वारुणयन्त्र आगजनीमा पूर्ण रूपमा ध्वस्त भएपछि यस्तो निर्णय लिइएको हो। तर आन्दोलन भएको दुई महिना नपुग्दै उपमहानगरले सो निर्णय कार्यान्वयन नगर्ने निष्कर्षमा पुगेको छ।
“वारुणयन्त्र खरिद गर्नका लागि अहिलेसम्म स्रोत सुनिश्चित छैन। कुन पैसाले खरिद गर्ने भन्ने नै ठेगाना छैन,” प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले प्रदेश खबरसँग भने। “राजस्व उठ्यो भने प्रक्रिया सुरु गर्छौँ। तर अहिले खरिद गर्ने अवस्था छैन।”
भट्टराईका अनुसार, पहिल्यै नगरबस खरिद गर्दा सम्पूर्ण प्रक्रिया अपनाउँदा पनि ‘पैसा खाएको’ आरोप लागेको थियो। “फेरि त्यस्तो आरोपमा फस्ने जोखिम म लिँदिन। अहिले जे छ, त्यही अवस्थामा काम गर्छौँ,” उनले बताए।
आन्दोलनले वारुणयन्त्रसहित नगरका अधिकांश संरचनालाई खरानीमा परिणत गरेको छ। “जलेर खरानी भएका संरचनाहरू पुनः त्यही अवस्थामा आउन अझै २० वर्ष लाग्छ,” भट्टराईले बताए।
_2GOKJPbCTq.jpg)
जेनजी आन्दोलनका क्रममा प्रमुख प्रशासकीय अधिकृत चढ्दै आएको बा १ झ १४४० नम्बरको स्कार्पियो, टाटाको पिकअप भ्यान, एक कार, चार वटा विद्युतीय नगरबस, एक ट्रिपर र एक मेसिन मात्रै जोगिएका छन्।
ती सवारीसाधनहरू सशस्त्र प्रहरी बलको पकलीस्थित मुख्यालयमा भदौ २३ गते नै लगेर राखिएको कारण सुरक्षित रहन सफल भएका थिए।
तर, नगरपरिसरमा रहेका अन्य सवारीसाधनहरू आन्दोलनको भीडमा तोडफोड भएका थिए। “टायर पञ्चर भएका कारण लान नसकिँदा ठूलो क्षति भयो,” भट्टराईले दुखेसो पोखे।
यता, इटहरी उपमहानगरपालिकामा हालैको आगजनीले करिब ३५ करोड रुपैयाँको क्षति पुर्याएको छ। देशभरका ३८ पालिकामा आगजनी भए पनि सबैभन्दा ठूलो आर्थिक नोक्सानी इटहरीमै भएको छ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिँदै भने,“आगजनीमा कागजातसम्म खरानी भइसकेको कारण माथिबाट के निर्देशन आउँछ भन्ने प्रतीक्षा गरिरहेका छौँ।
यदि माथिबाट कुनै निर्णय आउँदैन भने, कार्यपालिका बैठकमार्फतै उपभोक्ताको भुक्तानीको मापदण्ड बनाउनेछौँ।” हालसम्म उपमहानगरले उपभोक्ताबाट साढे चार करोड रुपैयाँ भुक्तानी बाकी रहेको जनाएको छ, जसको व्यवस्थापन अझै अलपत्र छ।
पूर्व–पश्चिम मार्गको प्रमुख सहर इटहरी उपमहानगरमा हाल वारुणयन्त्र नै नभएकाले आगलागी नियन्त्रणमा ठूलो समस्या देखा परेको छ। भदौ २४ को जेनजी आगजनीमा नगरका दुवै वारुणयन्त्र ध्वस्त भएपछि इटहरीमा आगलागी नियन्त्रणको क्षमता ठप्प भएको छ।
इटहरी उपमहानगरपालिकाबाट कोशी क्षेत्रमा हुने अधिकांश ठूला आगलागी नियन्त्रणका लागि वारुणयन्त्र पठाइन्छ।
नगरले २ वर्षअघि ९८ लाख रुपैयाँ लागतमा ३५०० लिटर क्षमता भएको हाइड्रेन्टमार्फत पानी फ्याँक्न सक्ने अत्याधुनिक वारुणयन्त्र खरिद गरेको थियो। तर, जेनजी आगजनीले दुवै वारुणयन्त्र नष्ट गरेको थियो।
यसअघि नगरमा सामान्य प्रकारको वारुणयन्त्र मात्र रहेकोले नगरको आवश्यकता बुझेर कार्यपालिकाको बैठकले उक्त वारुणयन्त्र खरिद गर्ने निर्णय गरेको मेसिनरी तथा उपकरण व्यवस्थापन शाखाका प्रमुख गणेश भट्टराईले बताए।
उनले थपे कि वारुणयन्त्रको अभावले इटहरी मात्र नभई कोशी प्रदेशमा पनि आगलागी नियन्त्रणमा समस्या सिर्जना गर्न सक्ने अवस्था रहेको छ।
सिर्जित परिस्थितिमा, गत ६ महिनामा सेन्ट्रल प्लाजामा मात्र भएको आगलागी नियन्त्रणका लागि इटहरीसहितका विभिन्न पालिकाबाट १७ ओटा वारुणयन्त्र ल्याइएको थियो, तर यति हुँदा पनि सो आगलागी नियन्त्रणमा अत्यन्त कठिनाइ देखिएको थियो।
यता स्थानियहरूले भने इटहरी उपमहानगरमा तत्कालै वारुणयन्त्र खरिद गर्नुपर्ने कुरामा जोड दिएका छन्। स्थानीय तेजबहादुर अधिकारी भन्छन्, “फागुनदेखि आगलागीका घटना बढ्छ, अहिले दमकल नकिन्ने हो भने पछि कहिले किन्ने हो?”
उनका अनुसार, पहिले नगरमा दुई ओटा दमकल सञ्चालनमा थिए, अब त कुनै पनि बाँकी छैन। सानो आगलागी भए पनि बिराटनगरबाट दमकल ल्याएर नियन्त्रण गर्नु पर्ने अवस्था आएको छ।
अधिकारीले भने, “पैसा नभए कर्मचारीको तलब एक महिना पछि दिए हुन्छ, तर यति अत्यावश्यक सामाग्री किन्ने निर्णयमा ढिलाइ र अलपत्र हुनु इटहरीको बेइज्जत हुनु हो ।”
इटहरी उपमहानगर अब पुनर्निर्माणका ठूला योजनातर्फ अघि बढ्ने कि वर्तमान अवस्थामै काम गर्ने भन्ने दोधारमा छ। तर अहिलेको यथार्थ स्पष्ट छ — वारुणयन्त्र खरिद गर्ने निर्णय राजनीतिक प्रतिबद्धता मात्रै रह्यो, कार्यान्वयन सम्भव छैन।
प्रतिक्रिया