विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेकपा (माओवादी केन्द्र) प्रतिपक्षी बेन्चमा बस्ने भएको छ ।
माओवादी १ महिनाअघि सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई लिएको समर्थन फिर्ता लिएको थिएन । सरकारबाट बाहिरिएको लामो समयपछि माओवादीले समर्थन पनि फिर्ता लिन लागेको हो ।
कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो । शुक्रबार (आज) दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।
बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी माओवादीको छ । माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टी प्रतिपक्षी बेन्चमा बस्ने बताए । उनका अनुसार यसअघि सरकारबाट पार्टी बाहिरिएको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखिएको थियो ।
माओवादी संसदीय दलको बैठक आज बस्दैछ । ‘दलको बैठकपछि सरकारको समर्थन फिर्ता लिन्छौं,’ आङ्बोले भने, ‘समर्थन फिर्ता लिएर माओवादी प्रतिपक्षमा बस्छ ।’
यता कांग्रेस भने प्रदेश सरकारमा सहभागी भएको छैन । आन्तरिक किचलोमा फसेको कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा सरकार विस्तार अनिश्चित बनेको छ । सरकारमा नगए पनि कांग्रेसले आजको प्रदेशसभा बैठकमा भने सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ ।
एमाले नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादीले सहयोग गरेको थियो । माओवादीको समर्थनमा गत वैशाख २७ गते कार्की मुख्यमन्त्री बनेका हुन् ।
तर, केन्द्रमा गठबन्धन फेरबदल भएसँगै माओवादी सरकारबाट बाहिरिनुपर्ने अवस्था आयो । कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि माओवादी प्रतिपक्षमा पुगेको हो ।
Discussion about this post