उदयपुर : उदयपुरमा पहिरोका कारण ६ घरपरिवार विस्थापित भएका छन् ।
जिल्लाको रौतामाई गाउँपालिका ७ पुँवारेका १७ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।सडक खन्दा बनेको कृत्रिम पहिरोले ६ घर दलित परिवार विस्थापित भएका छन् भने १७ घर उच्च जोखिममा रहेका वडाध्यक्ष मनोज रानामगरले बताए ।
रौतामाई ७ को पुँवारे गाउँबाट रानीवास–चौकीभञ्ज्याङ–निकास हुँदै जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरी जोड्ने सडक निर्माणका क्रममा गएको पहिरोले स्थानीय बस्ती जोखिममा परेको उनले बताए।
असार १४ गते वर्षासँगै बस्ती माथिबाट गएको पहिरोले बस्ती मात्रै विस्थापित र जोखिममा छैन करिब तीन बिघामा लगाइएको धानबालीसमेत पुरेको वडाध्यक्ष मगरले बताए।
सडक डिभिजन कार्यालय लाहानले सडक निर्माणमा आइपर्ने समस्यालाई नजरअन्दाज नै नगरी बस्तीमाथि डोजर चलाउँदा पहिरोको उच्च जोखिममा परेको हो।
स्थानीय नारायणबहादुर रायमाझीका अनुसार पहिरोबाट हुनसक्ने दुर्घटनाबारे सडक डिभिजनलाई जानकारी गराएपनि बस्तीमाथि डोजर चलाउँदा यो परिणाम आएको हो ।
Discussion about this post