इटहरी : नेपाल इञ्जिनियर्स एसोसिएसन कोशी प्रदेशको निर्वाचन आगामी भदौ २८ गते हुने भएको छ । इन्जिनियरहरूको छाता सङ्गठन नेपाल इञ्जिनियर्स कोशी प्रदेशको निर्वाचन उक्त मितिमा हुन लागेको हो । निर्वाचन दुई समूहबिच प्रतिस्पर्धा हुने बताइएको छ ।
नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूह र कम्युनिस्ट निकट संयुक्त प्रगतिशील इञ्जिनियर्स समूहबिच प्रतिस्पर्धा हुने भएको हो ।
काँग्रेसको विरुद्धमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
काँग्रेस निकट इन्जिनियरहरूको समूह (सिडेन)ले केन्द्रीय सदस्यमा उत्तमनारायण खरेललाई अगाडि सारेको छ । यसैगरी सभापतिमा जगरनाथ शाह, उपसभापतिमा उमेश तुम्वाहाङ्ग, सचिव अविनाश ठाकुर, सहसचिवमा पवन कार्की र कोषाध्यक्षमा सुधीर यादव उम्मेदवार रहेका छन् ।
यसैगरी सदस्यहरूमा शोभित कामत, निशीत मिश्र, नितु कोइराला, प्रशान्त अधिकारी, उज्ज्वल देव, अर्पण राउत, विशालकुमार झा, ज्योतिनारायण चौधरी, सुवर्ण कोइराला र राजकुमार ढकाल उम्मेदवार रहेका छन् ।
सिडेनले इन्जिनियरहरूको हकहितको लागि सबलीकरण, सहयोग, सहकार्य र संरक्षणका क्षेत्रहरूमा काम गर्ने प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिसकेको छ ।
उपसभापति पदका उम्मेदवार उमेश तुम्वाहाङ्गले पेसागत सहयोग, एकता सहकार्य तथा गुणस्तरसहितको सामाजिक आदर्श निर्माण, हकहितको संरक्षण तथा पैरवीजस्ता काम गर्ने लक्ष्य लिएको बताए ।
सात प्रदेशमध्ये कोशी प्रदेशमा मात्र इन्जिनियर्स एसोसिएसनको आफ्नो भवन रहेकाले इन्जिनियरहरूको वृत्ति विकासका लागि रिफ्रेस कोर्स सञ्चालन, डाटा अद्यावधिक प्रदेशबाटै सदस्यता नवीकरण विभिन्न तालिम सञ्चालन गर्ने सह-सचिवका उम्मेदवार पवन कार्कीले बताए ।
सदस्यहरूको कल्याणकोषको व्यवस्था गरी दीर्घ रोग लागेका तथा कमजोर आर्थिक अवस्था भएकाहरूलाई सहयोग गर्ने तथा इञ्जिनियरहरूले अनावश्यक मुद्धा झेल्नुपरेको कारण भइरहेको समस्यालाई निराकरण गर्न संस्थागत रूपमा कानुनी परामर्श दिने उदेश्यले कानुन व्यवसायी नियुक्ति गर्ने केन्द्रीय सदस्यका उम्मेदवार उत्तमनारायण खरेलले बताए । उनले सरकारी निकायमा इञ्जिनियरहरूको दरबन्दी थप्न पहल गर्ने र नयाँ इञ्जिनियरलाई सरकारी निकायममा इन्र्टनसीपको व्यवस्था गर्नका लागि आफनो उमेद्धवारी रहेको बताए ।
उता कम्युनिष्ट निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठन र समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपालले पनि सबल उम्मेदवारहरू उठाएको दाबी गरेको छ ।
सभापतिमा प्रदीप नेपाल, उपसभापतिमा राजेशकुमार लभरमण, सचिवमा सञ्जय कुमार झा, सहसचिवमा साङ्ग्रिला लामा र कोषाध्यक्षमा शोभित घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, सदस्यमा सागर बुढाथोकी, अजयराज श्रेष्ठ, विशाल श्रेष्ठ, राजु अन्सारी, उमेश शाह, चन्द्रप्रसाद आचार्य, सुमन दाहाल, दिपाङ्करप्रसाद भगत, केवल परियार र लक्ष्मी आले मगरको उम्मेदवारी रहेको छ । निर्वाचनमा कोशी प्रदेशस्तरीय चुनावमा एक हजार २१ जना मतदाता रहेका छन् ।
Discussion about this post