विराटनगर : मोरङबाट सशस्त्र प्रहरीले शुक्रबार राति १ क्वीन्टलभन्दा बढी गाँजा बरामद गरेको छ ।
धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट १ सय २० किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले बताए । उनका अनुसार अटो टेम्पोमा राखेर भारत कटाउन लागिएको लागुऔषध गाँजा राति ८ः३० बजेतिर बरामद गरिएको हो ।
प्लाष्टिकको ३ वटा बोरामा प्याक गरेर को २ ह ४०४१ नम्बरको अटोमा गाँजा लोड गरिएको थियो । सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको टोलीले अटोलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
एसपी खड्काका अनुसार खानतलासी गर्दा गाँजा फेला परेसँगै अटो चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २६ वर्षीय दिनेश राईलाई पक्राउ गरिएको छ । अटो चालक राई पक्राउ परेपनि अटोमा सवार रहेका अर्का १ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरामद भएको गाँजा, नियन्त्रणमा लिएको अटो र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाइएको सशस्त्रले जानकारी दिएको छ । यस विषयमा रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले थप अनुसन्धान थालेको छ ।
Discussion about this post