प्रकाश तिम्सिना
इटहरी । सुनसरीको इनरुवा नगरपालिकाका पूर्व नगरप्रमुख तथा हाल जिल्ला समन्वय समितिका सभापति राजन मेहताले कार्यकाल सकिएको एक वर्ष पुग्नलाग्दा समेत सरकारी गाडी फिर्ता गरेका छैनन् ।
मेहताले नगर प्रमुखको जिम्मेवारीमा रहँदा प्रयोग गर्ने गरेको बा१झ ८८२३ नम्बरको सेन्ट्रो कार र को२७प १८ नम्बरको हिरो डिलक्स स्कुटी अझैसम्म फिर्ता गरेका छैनन् ।
पदबाट निवृत्त भइसक्दा पनि गाडी फिर्ता नगरेपछि माघ ३ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले पत्राचार गरेका थिए ।
नगर प्रमुख हुँदा मेहताले ब्यक्तिगत प्रयोजनमा चढ्ने गाडी काठमाडौं पुर्याएका थिए । काठमाडौंमा उक्त गाडी नेपाली काङ्ग्रेसका प्रभावशाली एक नेताका आफन्तले चलाउने गरेको स्रोतको दाबी छ । स्कुटर पनि मेहताकै आफन्तले चलाउने गरेको स्रोतले दाबी गरेको छ ।
मेहताले भने गाडी पुरानो भएर लामो समय ग्यारेजमा थन्किएको बताए । स्कुटरबारे कुनै जानकारी नभएको उनले बताए ।
उनले उपचारमा रहेकानगर प्रमुख केदार भण्डारीलाई कुरेर बसेको बताउँदै आइतबार गाडी नगरपालिकालाई जिम्मा लगाइदिने बताएका छन् ।
गाडी फिर्ता नभएको विषयमा उपप्रमुख बिनिताकुमारी मेहता र प्रवक्ता सुमन थापाले केही प्रतिक्रिया दिन चाहेनन् । उपप्रमुख मेहताले आफूलाई गाडीबारे केही जानकारी नभएको बताइन् ।
उनीनगरपालिकामा कति सवारी साधन छन् भन्ने पनि थाहा नभएको उनको भनाइ छ । वर्तमान नगर प्रमुख केदार भण्डारी हाल उपचारका लागि भारत गएका छन् ।
Discussion about this post