इलाम । इलामको चुलाचुली गाउँपालिकाले सञ्चालन गरेको अस्पतालबाट स्वास्थ्य बिमा सुरु गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको अस्पतालबाट नै सेवा पाउने गरी बिमा कार्यक्रम सुरु गरिएको हो ।
गाउँपालिका परिसरमा सञ्चालित अस्पतालको नाममा स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ । चुलाचुली गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै अस्पतालबाट स्वास्थ बिमा कार्यक्रम सुरुवात गरेको हो ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुवात भएको जानकारी दिए । उनले गाउँपालिकाबासीलाई आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने बताए ।
जटिल प्रकारका बिमारीलाई अन्य सुबिधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भए त्यो सुविधा समेत उपलब्ध गराउने गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको उनको भनाई छ ।
चुलाचुलीबासीलाई आफ्नै अस्पतालबाट स्वास्थ्य बिमा सेवा दिन थालेपछि झापा लगायतका विभिन्न अस्पतालसम्म जानुपर्ने र घण्टौंसम्म लाईन बस्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ ।
कार्यक्रम लागू भएपछि स्थानीय हर्षित बनेका छन् । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले गाउँपालिकामा रहेको अस्पताललाई दक्ष जनशक्ति थपेर सेवा दिन सके अझ प्रभावकारी हुने बताए ।
चुलाचुली गाउँपालिका कार्यालय रहेको भवनबाटै पाँच शैय्याको चुलाचुली अस्पताल सञ्चालन भइरहेको छ । चुलाचुली गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणाधीन छ ।
Discussion about this post