इलाम । सेवाग्राहीलाई सजिलो होस् भनेर इलाम अस्पतालमा स्वास्थ्य हेल्पडेस्क स्थापना गरिए पनि प्रभावकारी बन्न सकेको छैन ।
इलाम नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि हेल्पडेस्क स्थापना गरिएको थियो । डेस्क स्थापनापछि धेरैले सहज सुविधा पाउने आशा गरेका थिए । तर आशा जरेजस्तो सहज नभएको सेवाग्राहीहरुको भनाई छ ।
सामान्य बिरामी पर्दासमेत यहाँ उपचार नभएर बाहिर जानु पर्ने बाध्यता हटेको छैन । अस्पतालको भवन पर्याप्त छ । ज्वरो आउँदा समेत उपचार नपाएको गुनासोसेवाग्राहीको छ ।
हेल्पडेस्क छ भन्ने नै धेरैलाई थाहा छैन । सोझै अस्पतालमा गएर सेवा लिने सेवाग्राही त्यहाँ पुगेर पुरानै शैलीमा सेवा लिन्छन् । न हेल्प डेस्क स्थापना गर्ने इलाम नगरपालिकाले हेल्पडेस्कको सेवा सिकायो न सेवाग्राहीले बुझ्न नै चाहे ।
इलाम अस्पतालबाट स्वास्थ्य बीमाको रेफर लिएर जाने सेवाग्राहीले समेत उल्टै समस्या झेल्नु परिरहेको छ । अस्पतालको प्रशासन शाखाबाट छाप लगाएर थप सेवा लिन जाने सेवाग्राहीहरु पनि कहिले जिल्ला प्रशासन कार्यालय पुग्छन् त कतिले छाप नै नलगाई झापाका अस्पतालमा पुग्छन् ।
छाप नलगाई झापाका अस्पतालमा पुगेका सेवाग्राहीले पुनः इलाम आएर रेफरकार्डमा छाप लगाएर जानुपर्ने बाध्यता हुन्छ ।
यस्ता सेवा प्रवाहमा समेत इलाम अस्पतालको स्वास्थ्य हेल्पडेस्कले सहयोग नगरेको उनीहरुको गुनासो छ । यस्तो समस्याले दोहोरो भाडा तिर्न बाध्य हुनु परेको सन्जोक पी गुरुङको भनाई छ ।
उनले अस्पतालले दिने रेफर कार्डमा छाप नलगाइदिएका कारण दोहोरो मार परेको गुनासो गरे । छाप नलगाएको रेफर कार्डबाट झापाका अस्पतालले उपचार गर्न नमान्दा सेवाग्राहीले आफलैँ खर्च गरेर उपचार गराउनु पर्ने बाध्यता छ ।
इलाम नगरपालिकाले स्थापना गरेको स्वास्थ्य हेल्पडेस्कमा एकजना अधिकृत स्तरसहित दुईजना कर्मचारी राखिएको छ । केहीले पुराना केही कर्मचारीलाई ब्यवस्थापन गर्न मात्रै हेल्पडेस्क स्थापना गरिएको बताउने गरेका छन् ।
स्वास्थ्य हेल्पडेस्कका लागि नयाँ निर्माण भएको भौतिक संरचना र कर्मचारीलाई दिइने तलब अनुसारको काम पनि नदेखिएको सेवाग्राहीको भनाई छ ।
इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले यस विषयमा इलाम नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले यसलाई थप ब्यवस्थित बनाउँदै स्तरोन्नति गर्नतर्फ लाग्ने बताए । आएका गुनासाहरुलाई सम्वोधन गरेर अघि बढ्ने बताउँदै उनले यसको छुट्टै कार्यविधि रहेको र त्यसलाई समेत कार्यान्वयन गर्ने बताए ।
Discussion about this post