विराटनगर : विवादास्पद धर्मगुरु सिद्धबाबालाई बलात्कार मुद्दामा उच्च अदालतले सफाइ दिएको छ । अनुयायीलाई बलात्कार गरेको आरोप लागेका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।
सुनसरीको चतरास्थित आश्रममा बस्दै आएका उनलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलालाई उच्च अदालतले मंगलबार सदर गरेको हो ।
न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले सुनुवाइ गर्दै जिल्लाको फैसला सदर गरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले पुष्टि गरे । ४ कात्तिक २०७६ मा काठमाडौँबाट आएकी महिला अनुयायीलाई आफ्नो आश्रममा बोलाएर राति साढे १२ बजे करणी गरेको दाबीसहित ११ मंसिर २०७६ मा प्रहरीमा जाहेरी दर्ता भएको थियो ।
उक्त जाहेरी दर्ता भएपछि उनी प्रहरी अनुसन्धानको घेरामा परेका थिए । बलात्कार मुद्दामा उनलाई यसअघि सुनसरी जिल्ला अदालतले दुई पटक सफाइ दिएको थियो । पहिलोपटक सुनसरी अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले २०७७ मंसिरमा सफाइ दिएको थियो ।
सुनसरी अदालतकै न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई २०८० भदौमा दोस्रोपटक पनि सफाइ दिएको थियो । अभियोग दाबी नपुग्ने भन्दै दुवैपटक सुनसरी अदालतबाट सफाइ पाएका उनीविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
उनीविरुद्धको मुद्दाको फैसला नमिलेको भन्दै उच्च अदालत विराटनगरले त्यसलाई उल्टाएर फेरि निर्णय लिन जिल्ला अदालतलाई आदेश गरेको थियो । आवश्यक प्रमाण जुटाएर मुद्दाको फैसला गर्न उच्चले आदेश ग¥यो । तर, दोस्रोपटक पनि उनले जिल्लाबाट सफाइ पाएका थिए ।
सुरु फैसला हुनुअघि २०७७ मंसिरमा सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै निवेदन दिएको थियो । तर, आरोपित पक्षको मात्रै बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा जिल्लाले फैसला गरेको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनका आधारमा उच्चले आवश्यक प्रमाण जुटाएर मुद्दामा निर्णय लिन जिल्लालाई आदेश गरेको हो ।
पीडित महिलाले २०७६ कात्तिकमा काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । जाहेरी परेसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि सिद्धबाबालाई नियन्त्रणमा लिएको थियो । प्रहरीको नियन्त्रणमा भएपछि उनले बिरामी भएको भन्दै विराट नर्सिङ होममा बिताए । पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सिद्धबाबाले विराट नर्सिङ होमको बेडबाट महिलालाई फोन गरेर ‘अब त्यस्तो हुँदैन, त्यस्तो भयो भने लिङ्ग काटेर फालिदिन्छु’ भन्दै माफी मागेको अडियोसमेत सार्वजनिक भएको थियो ।
प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा सिद्धबाबाको आवाजसँग प्रमाणको रूपमा पेश भएको अडियो ७६.९ प्रतिशत मिलेको थियो ।
उनी अस्पतालमै भएकै बेला जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिल उच्च अदालत पुग्यो ।
उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ (हाल सर्वोच्चका न्यायाधीश) र प्रेमराज कार्कीको संयुक्त इलजालसले जिल्लाको आदेश उल्टाउँदै सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।
उच्चको आदेशपछि भारततिर भागेका थिए । पछि अदालतमा हाजिर भएका उनलाई झुम्का कारागार चलान गरिएको थियो । दुई पटक जिल्लाबाट सफाइ पाएका सिद्धबाबाले अहिले आएर उच्चबाट पनि सफाइ पाएका हुन् ।
Discussion about this post