इटहरी । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको अहिलेको प्राथमिकता सरकार बनाउनु रहेको बताएका छन् ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कींसंग अनसन स्थलमा भेट गरेपछि पत्रकारसंग कुरा गर्दै दलका नेता थापाले भने, ‘कोशी प्रदेशमा अहिले पार्टी सरकारमा छैन । पार्टीलाई पहिले सरकारमा पठाउने र त्यसपछि अनसनका विषयमा सरकार मार्फत सम्बोधन गराउने कुरा हो ।’
अनसनका विषयमा उनले भने, ‘पहिले उहाँले दलमा आएर निर्णय गरेर अनसन गर्नुपर्थ्यो। त्यसो हुँदा पार्टीले पनि यसको अपनत्व लिनुपर्थ्यो । तर अब उहाँले पार्टीलाई अनसन बस्ने जानकारी मात्र दिनुभयो । दलको निर्णय यस विषयमा भएन । यही कुरा दलमा बसेर निर्णय गरेको पार्टीले वा दलले जिम्मेवारी लिनुपर्थ्यो । त्यसैले अब यो संस्थागत चाही हुन सकेको छैन । तथापि यसबाट हामी टाढा हुने कुरा भएन । समस्या आएको छ र यसको समाधानतर्फ जानुपर्नेछ ।’
बजेट कटौती भएको विषयमा आफूले मुख्यमन्त्री कार्यालय सचिवसङ बुझेको बताएका थापाले अधिकांश बजेट परेको उल्लेख गरे । उनले भने, ‘उहाँले उठाउनु भएको मागमा पनि अधिकांश बजेट परेको छ । बजेट नै नपरेको भन्ने छैन । हामीले बुझ्दै गर्दा सबै शीर्षकमा पैसा छ। यसमा कार्यदल बनाएर काम गर्नेछौ ।’
काठमाडौँबाट बुधवार बिहान विराटनगर आएका दलका नेता थापा दिउँसो अनसलस्थल पुगेर निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई भेटेका थिए । उनीहरूबिच समेत केही छोटो समय संवाद भएको थियो ।
Discussion about this post