विराटनगर । नेकपा (एमाले)ले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनको विरोध गरेको छ ।
विभिन्न ९ बुँदे माग राख्दै कार्की अनशन बसेपछि एमालेले विरोध गरेको हो । प्रदेश सरकार र बजेटका बारेमा कार्कीले भ्रम फिँजाउने कार्य गरेको भन्दै एमाले असन्तुष्ट भएको छ ।
प्रदेशसभा बैठकमा बुधबार एमाले सांसद तिलचन पाठकले विशेष समय लिएर बोल्दै कार्कीले संसदीय मूल्यमान्यताविपरीत काम गरेको बताए । उनले अनशनको नौटंकी नगर्न पनि आग्रह गरे ।
‘उहाँले ‘लास्ट बेन्च’मा रहने एउटा सदस्यको रुपमा आफूलाई स्थापित गराउनु भएको हुनाले सायद बुझ्ने बानी हरायो कि ? हामीले राखेका (बजेटमा) विषयमा अझ खुला ढंगबाट प्रष्ट पार्न सरकार तयार छ । नेकपा एमाले तयार छ । वार्ता कार्यदल, के गर्नुपर्छ गर्न तयार छु र मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्नसमेत म अनुरोध गर्न चाहन्छु । अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन । जनता सुखी हुँदैनन,’ पाठकले भने ।
कार्कीले उठाएका सबै माग बजेटमा समवेश भएको बताउँदै उनले भने ,‘तर, यतिबेला बजेटका नामबाट जनतालाई अन्योलमा पार्ने र प्रदेशलाई अन्योलको भुमरीभित्र राख्ने काम केदार कार्कीले गरिरहनु भएको छ ।’ कार्कीले संसदको अपमान गरेको उल्लेख गर्दै पाठकले कार्कीको गतीविधिको छानबिन गर्नुपर्ने पनि बताए ।
केदार कार्कीले उठाएका सबै माग रातोकिताबमा रहेको बताउँदै उनले त्यो हेर्न आग्रह गरे । उनले प्रदेश मातहतका सबै अस्पताल र दमक बाल अस्पतालमा बालबालिकाको निःशुल्क उपचार हुने बताए ।
तर, प्रदेश मतहतका अस्पतालमा विशिष्टीकृत सेवा छैन । १० वर्षमुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा निःशुल्क गर्नुपर्नेलगायतका मागसहित कार्की मंगलबारदेखि आमरण अनशनमा छन् ।
Discussion about this post