विराटनगर : कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस बिहीबार सहभागी हुने भएको छ ।
कांग्रेस प्रदेश संसदीय दलका नेता तथा पार्टी कोशी प्रदेश सभापति उद्धव थापाले सरकारमा बिहीबारसम्म नेपाली कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने बताएका हुन् ।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले कांग्रेसको पदाधिकारीको बैठकले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको बताए । केन्द्रबाट नाम आउनेबित्तिकै सरकारमा मन्त्रीहरूलाई सहभागी गराइने उनले बताए ।
‘कोशी प्रदेशमा नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ र अब मन्त्री टुङ्ग्याउने भन्नेछ,’ सभापति थापाले भने ।
थापाले कोशी प्रदेशमा कांग्रेसले चार मन्त्रालय पाउने बताए । मन्त्रालय नबढाउने प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको जानकारी दिँदै दुवै पार्टीबाट दुई–दुई जना राज्यमन्त्री राखिने सहमति भएको उनले जानकारी दिए।
तत्काल मन्त्रालयको संख्या नबढाइए पनि १३ सदस्यीय मन्त्रिमण्डल बन्ने र कांग्रेस सरकारमा सहभागी भएको केही समय पछि मन्त्रालयको संख्यासमेत बढाउन सकिने उनले बताए ।
गत १२ साउनमा एमालेसँगको सहमतिपछि कांग्रेसले दुई दिनभित्रै सरकारमा सहभागी हुने बताएको थियो । तर, आन्तरिक भागबण्डा मिलाउन नसक्दा हालसम्म सरकारमा सहभागी भएको छैन ।
Discussion about this post