इलाम : इलाममा एकापट्टी मात्र छापिएको पाँच सयको नोट फेला परेको छ । केही दिन अघि इलाम बजारका युवा समाजसेवी सुमन श्रेष्ठले यो नोट फेला पारेका हुन् ।
पाँच सयको एक थान नोट एकापट्टि मात्र छापिएको भेटिएको छ । श्रेष्ठले ङ ९३४८७४१८ नम्बरको एकापट्टी छापिएर अर्कापट्टि नछापिएको नोट फेला पारेका हुन् ।
एकै दिन केही बैङ्कका एटिएमबाट पैसा निकालेको, सोही दिन इलाम बजारकै एक घरमा भएको मृत्युपछिको काजक्रियामा समेत आफूले पैसा साट्ने क्रममा सो नोट फेला पारेको श्रेष्ठले बताए ।
उक्त नोट कहाँबाट आयो भन्ने आफूलाई समेत यकिन नभएको उनी बताउँछन् । उनले पैसा निष्कासन गर्ने राष्ट्र बैङ्कको गल्ती भएको बताउँदै आफू यस विषयमा आफू कानुनी उपचारमा जाने बताउँछन् ।
इलाम बजारकै केही निजी तथा नेपाल बैङ्कमा पैसा परीक्षण गर्दा सो नोट सक्कली भएको बताइएको छ । तर आधिकारिक रूपमा बैङ्कले भन्न नमिल्ने बैङ्कका कर्मचारीहरूको भनाई छ ।
सो नोटमा गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेका छन् । नोट २०७३ सालमा निष्कासित भएको मिति उल्लेख छ । यस विषयमा नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा भागवत आचार्यले मुद्रा व्यवस्थापन विभागले हेर्ने बताए । छाप्ने क्रममा त्रुटि भएको भन्दै उनले यस विषयमा अनुसन्धान समेत मुद्रा व्यवस्थापन विभागले नै गर्ने बताए ।
उता मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले नोट नहेरी भन्न नसक्ने बताए । ठुलो भोल्युममा नोट छाप्ने क्रममा एउटा एउटा नोट चिप्लिएको हुन सक्ने उनको भनाई छ । तर यस्तो एकापट्टि मात्र छापिएको नोट फेला पारिएको भने यो आफूकहाँ पहिलो पटक जानकारी प्राप्त भएको उनले बताए ।
छपाइमा त्रुटि भएको हुन सक्ने भन्दै उनले यो नोटको सट्टामा अर्को नोट दिन सकिने प्रावधान रहेको बताए ।
उनका अनुसार नेपालमा हाल छ सय ६७ अरब पैसा चल्तीमा रहेको छ । जसमा पाँच सय र हजारका २५ प्रतिशत र एक सय मुनीका ७५ प्रतिशत पैसा रहेको बताइएको छ ।
Discussion about this post