इलाम : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ ।
साढे तीन देखी बन्द रहेको विमानस्थल आज बिहीबार देखी सुचारु भएको हो । गएको बिहीबार नै उडान गर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।
यात्रु पाएसँगै बिहीबारबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए । उनका अनुसार काठमाडौँ बाट इलामका लागि छ जना यात्रु आएको र काठमाण्डौका लागि ८ जना यात्रु लिएर गएको छ ।
इलाम नगरपालिका ९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ । अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ ।
बर्खा लाखेसँगै खराब मौसमका कारण साढे तीन महिना देखी नभएको उडान सुरु भएसँगै यात्रुलाई सहज भएको छ । दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलाम देखी काठमाडौँ उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको छ । यहाँबाट बिचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
गएको जेठ १३ गते देखी हुन नसकेको उडान सुरु भएको हो । इलामबाट हप्ताको दुई दिन अर्थात् आइतबार र बिहीबार उडान हुँदै आएको थियो । नेपाल एयरलाइन्सका दुई वटा साना विमान मध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने र अर्को विमान मर्मतबाट आएपछि साताका अन्य दिन समेत उडान हुने जनाइएको छ ।
इलामको विमानस्थल सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला सहित छिमेकी राष्ट्र भारतको सिक्किम, मिरिक लगायतका बासिन्दालाई काठमाडौँ लगायतको यात्रामा सहज हुने छ ।
Discussion about this post