पाँचथर : मान्छे हिँडेर पुग्नै हम्मे–हम्मे पर्ने तिम्बुङ पोखरी क्षेत्रमा देश विदेशका धावकलाई निम्तो गरेर ट्रेल रेसको आयोजना गरिएको छ ।
समुद्री सतहदेखि चार हजार तीन सय ५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीदेखि पाङदुवा सम्मको ८ किलोमिटर लामो चट्टानी सडकमा दौडेका धावकले यो क्षेत्र धार्मिक र पर्यटकीय क्षेत्रसँगै पदयात्रा र साहसिक दौडका लागि उत्कृृष्ट गन्तव्यको सन्देश दिए ।
यस क्षेत्रको पर्यटकीय सम्भावना, जैविक विविधता र धार्मिक विश्वासलाई प्रचार गर्दै साहसिक पर्यटनको सम्भावना खोज्न पहिलो पटक तिम्वुङ पोखरी ट्रेल रेसको आयोजना गरिएको आयोजक समितिका संयोजक अमिर राईले बताए ।
दौडमा यस क्षेत्रमा वर्षौदेखि चौंरी पाल्दै आएका पशुपालकसँगै नेपालका विभिन्न स्थान मात्रै नभएर छिमेकी मुलुक भारत र सिक्किमबाट आएका तीन महिलासँगै ३० जना धावक एकै ठाउँबाट दौडिए ।
प्रतियोगितामा सहभागी भएका २९ जना धावकलाई पछि पार्दै ३३ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरेर पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई प्रथम स्थान हासिल गर्न सफल भए ।
सुरुवाती चरणबाटै उनलाई पछ्याइरहेका छिमेकी भारतको सिक्किमका पिङ्सो नाम्ग्याल भुटियाले यो दूरी ३६ मिनेट ७ सकेण्डमा पार गरेर द्धितिय स्थान ओगटे ।
तिम्बुङ पोखरीकै चौंरी पालक भरत बानियाँले ३६ मिनेट ३७ सेकेण्डमा दूरी पार गरेर तेस्रो बन्न सफल भए । बानियाँले तेस्रो स्थान हासिल गरेसँगै आफूले पाएको यो सफलता जीवनकै पहिलो अनुभव भएको बताए ।
महिलातर्फ तीनजना प्रतिस्पर्धीमध्ये सबैभन्दा छिटो निर्धारित दूरी पार गर्दै पाँचथरको फाल्गुनन्दकी निक्की नेम्वाङ प्रथम भइन् ।
यत्तिको उचाइमा आएर दौडिएका धावक त खुशी भए नै आयोजक पनि भौगोलिक विकटता र प्रतिकुल मौसमका बाबजुज यत्तिको ठूलो कार्यक्रम सफल भएकोमा उत्साहित देखए ।
मानव बस्ती र सवारी साधनको पहुँच भएको स्थानदेखि झण्डै दुई दिनको पैदल यात्रा पछि पुगिने तिम्बुङ पोखरी क्षेत्र पर्यटकीय दृष्टिकोणले सम्पन्न भएपनि पर्यटक आकर्षित गर्ने गतिविधि हुन नसकेका बखत पहिलोपटक चट्टानी सडकमा सम्पन्न गरिएको ट्रेल रेसले यस क्षेत्रको प्रचारप्रसार र शाहसिक पर्यटनमा बढोत्तरी हुने सिदिङवा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले विश्वास व्यक्त गरिन् ।
ट्रेल रेस आयोजना भइरहँदा नेपाल र भारतका विभिन्न क्षेत्रबाट आएका सर्वसाधारणसँगै पर्यटन व्यवसायी, सञ्चारकर्मी र सर्वसाधारण तिम्वुङ पोखरी आइपुगेका थिए ।
ट्रेल रेस ताप्लेजुङको सिदिङवा गाउँपालिकाको र कोशी प्रदेश पर्यटन विकास समितिको सहयोगमा सम्पनन भएको हो । प्रतियोगिताको कुल लागत ९ लाख रुपैयाँ रहेको बताइएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमशः ३० हजार, २० हजार १० हजार रुपैँया नगद पुरस्कारसँगै ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगिता हरेक वर्ष आयोजना गरिने आयोजकले जनाएको छ ।
Discussion about this post