विराटनगर । मोरङको रंगेली नगरपालिकाका कर्मचारीमाथि कुटपिट एवं आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने माग प्रेसागत महासंघले गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई आइतबार ज्ञापन पत्र बुझाउँदै महासंघले कर्मचारीको सुरक्षाको मागसहित आक्रमणमा संलग्नलाई अविलम्ब कारबाही हुनुपर्ने अडान राखेको हो । कर्मचारीमाथि आक्रमण हुन थालेर कार्यस्थलमा काम गर्ने वातावरण नभएको ठहर महासंघको छ ।
पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्मा र सचिव सालीग्राम कोइरालाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा केही दिनअघि मोरङको रंगेलीमा कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने र कर्मचारीको सुरक्षाको प्रत्याभूति गराउनुपने माग राखिएको छ । रंगेली नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको विरोधमा नेपाली कांग्रेसको अगुवाइमा आन्दोलन भइरहेको छ । गत शुक्रबार आन्दोलनकारीले नगरपालिकाका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।
त्यस क्रममा कर्मचारीमाथि कुटपिट, दुव्र्यवहार र हातपातसमेत भएको थियो । सहायक पाँचौं सुधीर चौधरीलाई सेवा प्रवाहका लागि कार्यालय प्रवेश गर्ने क्रममा केही व्यक्तिहरुले गुन्डागर्दी शैलीमा आक्रमण र कुटपिट गरेको ज्ञापन पत्रमा उल्लेख छ । घटनाप्रति ध्यानआकर्षण भएको भन्दै महासंघले विरोध जनाएको हो ।
‘स्थानीय तहले गरेका निर्णयहरू कार्यान्वयन गर्नु गराउनु राष्ट्रसेवक कर्मचारीहरूको कर्तव्य हुने र राजनैतिक समस्याको समाधान राजनीतिक रूपमै गर्नुपर्नेमा कार्यालय प्रवेश गर्दै गरेका राष्ट्रसेवक कर्मचारीमाथि अमर्यादित तथा गुन्डागर्दी शैलीमा कुटपिट गर्नु दुःखद् एवं खेदजनक छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘इमान्दार र कर्तव्यनिष्ट कर्मचारीलाई जिम्मेवार दलका कार्यकर्ता तथा दलको संलग्नता देखिने गरी घटाइएको घटना आफैंमा निन्दनीय र अशोभनीय छ ।’
यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर भइ सेवा प्रवाहमा गम्भीर असर पर्ने ठहर गर्दै महासंघले पेसाकर्मीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सुरक्षा निकायलगायतका सरोकारवालासँग माग गरेको छ । रंगेलीमा भएको घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरिएको अध्यक्ष शर्माले बताए ।
उनका अनुसार दोषीमाथि कारबाही नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिइएको छ । आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरोकारवाला नै हुने अवगत गराइएको छ । सरोकारवालासँग छलफल गरेर घटनामा संलग्नलाई कारबाही गरिने प्रजिअ भट्टराईले बताए । उनले राष्ट्रसेवक कर्मचारीलाई अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
Discussion about this post