विराटनगर : विराटनगरमा बचतकर्ताले जम्मा गरेको नौ करोड २५ लाख रुपैयाँ नेता र कर्मचारीले गरे घोटाला गरेका छन् ।
विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारीमा सर्वसाधारण बचतकर्ताले जम्मा गरेको नौ करोड २५ लाख रुपैयाँ नेता र कर्मचारीले घोटाला गरेका हुन् ।
आफूलाई राजनीतिकर्मी, अधिकारकर्मी र सामाजिक अभियन्ता भन्नेहरू नै सहकारीका सञ्चालक थिए । उनीहरूकै मिलेमतोमा बचतकर्ताको रकम हिनामिना हुँदा सहकारी डुबेको हो ।
रकम हिनामिनामा मुछिएका सहकारीका अध्यक्ष अमलेश कर्णलाई प्रहरीले पक्राउ गरेपछि यो घटना बाहिरिएको हो । कर्णविरुद्ध यसअघि नै उजुरी परेको थियो । प्रहरीले गत बुधबार पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो ।
सहकारीको कार्यालय एक वर्षदेखि बन्द थियो । अध्यक्ष कर्णसहितका सञ्चालक फरार भएका थिए । बचतकर्तासँग सम्पर्कविहीन भएका सञ्चालकविरुद्ध प्रहरीमा उजुरी परेको थियो । त्यसकै आधारमा प्रहरीले कर्णलाई पक्राउ गरेको हो ।
सहकारीको रकम हिनामिना प्रकरणमा सञ्चालक र व्यवस्थापक जोडिएका छन् । सहकारीले लगानी गरेको ऋण उठ्न नसक्ने अवस्था छ । सहकारीका अध्यक्ष कर्ण तत्कालीन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष हुन् । उनी दुईपटक विराटनगरको मेयरमा उठेका थिए ।
ठगी प्रकरणमा जोडिएका सञ्चालक प्रभाकर थापा (संजय) नेपाली कांग्रेसका महासमिति सदस्य एवं कांग्रेस भातृ संगठन तरुण दल मोरङका सभापति हुन् । सहकारी सञ्चालक भागेपछि कोशी प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गतवर्ष जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेर छानबिन गरेको थियो ।
छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको नौ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँमध्ये अध्यक्षसहित ५ पदाधिकारीले ६ करोड २८ लाख ६३ हजार ८ सय २५ रुपैयाँ अपचलन गरेको देखिएको थियो । सो रकमको ५० प्रतिशत पूर्वसचिव तथा व्यवस्थापक अमित कार्की र बाँकी रकम अमलेश कर्ण, प्रभाकर थापा र राधादेवी लिम्बूबाट असुल गर्नुपर्ने प्रतिवेदन समितिले दिएको थियो ।
कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार रुपैयाँ हिनामिना गरेको छानबिन समितिको निष्कर्ष छ । समितिका अनुसार कार्कीले सहकारीको रकम आफ्नो बैंक खातामा राखेर कारोबार गर्थे । २ वटा बैंकको आफ्नो खाताबाट उनले ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको थियो ।
सहकारीका पूर्वसचिव तथा संचालक प्रभाकर थापाले एक करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ, अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २ सय ७५ रुपैयाँ र कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९ सय ६६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन समितिले तयार पारेको थियो ।
सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दायित्वबाट मुक्त गर्न सकिने र अपुग एवं नोक्सानी भएको रकम सञ्चालकले बेहोर्नुपर्ने छानबिन समितिले औंल्याएको थियो । सहकारीले २ करोड ८१ लाख ६७ हजार ऋण असुल गर्नुपर्ने देखिन्छ ।
सहकारीविरुद्ध ९५ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । निवेदन आउने क्रम जारी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘उजुरी आउने क्रम अझै जारी छ । एक जनालाई पक्राउ गरेर ल्याएका छौं । थप अनुसन्धान हुँदैछ,’ उनले भने ।
विराटनगरका बासिन्दा थापाले झापाको धुलाबारी नगरपालिका–२ मा १८ कट्ठा जग्गा खरिद गरेको छानबिन समितिले फेला पारेको छ । जसमध्ये २ कित्ताको ९ कट्ठा जग्गा उनको श्रीमतीको नाममा छ । सहकारी संकटमा परेपछि सहकारीका अध्यक्ष कर्णले भने पत्नीसँग सम्बन्धविच्छेद गरेको खुलेको छ ।
Discussion about this post