विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सकारात्मक सन्देश भएको बताउँदै विश्वास मत दिन आग्रह गरेका छन् ।
कोशी प्रदेश सभामा बुधवार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेको यो छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको बताए ।
‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केही सकारात्मक सन्देश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न गरिएको छ’ उनले भने – ‘धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासका निम्ति पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०८१, बृहत्तर वराहक्षेत्र विकास समिति (गठन) आदेश, २०८१, हलेसी महादेवस्थान विकास समिति गठन आदेश, २०८१ स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको छ ।’
सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरूप कर्जा सुरक्षण कार्यक्रमको विस्तार र प्रवर्द्धनका लागि प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँबिच समझदारी पत्रको आदानप्रदान जस्ता कुराले प्रदेशमा आशाको सञ्चार सृजना गरेको उनले बताए ।
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई मुलुककै विशिष्ट कृत नमुना अस्पतालको रूपमा व्यवस्थापकीय सुदृढीकरण गरी कोशी आयुर्वेद प्रतिष्ठानको रूपमा विकास गर्न “आयुर्वेद चिकित्सा सेवा, जडीबुटी शिक्षा तथा अध्ययन तथा अनुसन्धान सम्भाव्यता अध्ययन कार्य योजना तर्जुमा कार्यदल, २०८१” गठन गरी कार्य प्रारम्भ गरिएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे । प्रदेशको पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक निजी सहकारी लगानीको अवधारणा अनुसार भेडेटार स्कईवाक परियोजना सञ्चालन र ट्रायल पास हुने बित्तिकै लाइसेन्स वितरण जस्ता विषयले प्रदेश उत्साह छाएको उनले बताए ।
कार्कीले विगतका तिता बिर्सिएर सकारात्मक अभ्यासबाट अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावना विपरीत प्रकट भएका विचलनहरू रोक्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नका लागि आर्थिक शिथिलता, दण्डहीनता र निराशालाई चिर्दै प्रदेशवासी जनतामा प्रदेश संरचना प्रति आशा र भरोसा पैदा गर्ने विश्वास दिलाए । विशेषतः युवाहरूमा प्रकट नैराश्य, आक्रोश र नकारात्मक सोचमा परिवर्तन गर्न जरुरी रहेको कार्कीले औँल्याए ।
कार्कीले काँग्रेस र एमालेको सहकार्यबारे स्पष्ट पार्दै भने –‘प्रदेशवासी जनता समेतको चाहना बमोजिम अघि बढेको उच्च राजनीतिक सहकार्य हो । ’
अहिलेको समीकरण राजनीतिक दाउपेच नभएर राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन र राजनीतिक स्थिरताका लागि भएको कार्कीले बताए ।
प्रदेशका सबै खाले मौलिक सभ्यता, भाषा, धर्म, संस्कृति र जातजातिको संरक्षण एवं विकास गर्ने, विविधता र बहुलतालाई कोशी प्रदेशले महत्पूर्ण ठानेर काम गर्ने कार्कीको प्रतिबद्धता छ ।
मुख्यमन्त्री कार्कीले २०८१ वैशाख २७ गते सरकार बनाउन सहयोग गरेकोमा माओवादी केन्द्रलाई समेत धन्यवाद दिए । वैशाख २७ गते सरकार बनेपछि वैशाख ३१ विश्वास मत लिएका कार्कीले १ सय २७ दिन पछि आज फेरी विश्वासको मत लिएका हुन् ।
केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि कोशीमा माओवादी केन्द्रले साउन ११ गते सरकार छाडेको थियो भने भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । अहिले प्रदेशका नेपाली काँग्रेस सरकारमा सहभागी भएको छ ।
Discussion about this post