विराटनगर । विराटनगरमा बुधबार बिहान भएको आगलागीमा जलेर एउटा कपडा पसल ध्वस्त भएको छ । आगलागीमा करिब १ करोड बराबरको क्षति भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले विराटनगर महानगरपालिका–७ जैन भवननजिक दीपक कायस्थको घरको भुइँ तलामा रहेको कपडा पसलमा बिहान ४ः३० बजेतिर आगलागी भएको जानकारी दिए । उनका अनुसार कायस्थको घरको सटर भाडामा लिएर विराटनगर–६ का सन्तोष रौनियाले कपडा पसल संचालन गर्दै आएका थिए ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेत बताउँछन् । विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।
आगोले पसलमा रहेका सबै कपडा जलेर ध्वस्त भएको छ । पसल संचालन गरिएको सटरमा पनि क्षति पुगेको छ । मानवीय र चौपाया क्षति भने नभए पनि आगलागीमा अन्दाजी १ करोड बराबरको क्षति भएको जानकारी डीएसपी बस्नेतले दिए ।
त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिका–३ गोकुवामा आगलागी हुँदा एउटा घर जलेको छ । प्रहरीका अनुसार बिहान ४ः३० बजेतिर आगोले पार्वती खड्काको घर आगो लागेको हो । आगोले घर पूर्णरूपमा जलेको छ ।
स्थानीय र दमकलको सहयोगमा प्रहरीले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । डीएसपी बस्नेतका अनुसार आगलागीबाट घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन सबै जलेर ध्वस्त भएको छ ।
घटनामा करिब ४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन भने विद्युत सर्ट भएर आगलागी भएको हुनसक्छ ।
Discussion about this post