विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख प्रतिपक्षी दल माओवादीलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
विश्वासको मतमागेपछि दलहरुले उठाएको प्रश्नमा जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र)ले २ पटक विश्वासको मत दिएर मुख्यमन्त्री बनाएको बताउँदै उनले पुनः विश्वासको मत दिन आग्रह गरे ।
‘माओवादी केन्द्रले २ पटक समर्थन गरेर मुख्यमन्त्री बनायो । मैले त धन्यवाद पनि दिएको छु,’ उनले भने, ‘फेरि तेस्रो पल्ट बनेको छु । १ पटक फेरि विश्वासको मत दिँदा फरक पर्दैन । आन्तरिक सम्बन्ध राम्रो थियो । काहीँ पनि घुनपुत्ली लागेको थिएन् । कुनै अप्ठेरो मान्न पर्दैन । विश्वासको मत दिए हुन्छ ।’
उनले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई तटस्थ नबनी पक्षमा मत हाल्न आग्रह गरे । ‘वेट एण्ड सी गर्ने हुँदा पक्षमा दिएर जाँदा हुन्छ,’ उनले भने, ‘काहीँ ‘टेक्निकल’ कमजोरी भयो होला हामी दूधले नुहाएको कोही पनि छैनौं होला ।’
उनले उच्चस्तरको सहमति गरेर अघि बढ्न आग्रह गरे । राप्रपासँग १ वर्ष सहकार्य गरेको बताउँदै विश्वासको मत दिन आग्रह गरे । संघीयताका ३ तहमध्ये प्रदेश तह अब्बल रहेको कार्कीले दाबी गरे ।
Discussion about this post