काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सबै तहका परीक्षाका प्रश्नपत्र नेपाली माध्ययममा छाप्न माग गरेका छन्।
सरकारी स्कूलमा पढेका सबै विद्यार्थीको अंग्रेजीमा पहुँच नहुने जनाउँदै क्रान्तिकारीले स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै विषयका प्रश्नपत्रहरू नेपाली भाषाको माध्यममा छपाइ गर्न माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका हुन्।
पद्मकन्या बहुमुखी क्याम्पस समितिकी अध्यक्ष तिर्सना आले मगर, पूर्वअध्यक्ष वसन्ता भण्डारीलगायतको टोलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर उक्त माग राख्दै ज्ञापन पत्र बुझाएका हो।
ज्ञापन पत्रमा भनिएको छ,’अहिले सरकारी क्याम्पसहरू राजनीति गर्ने अखडा जस्तै बनिरहेका छन्। एजेन्डाविहीन राजनैतिक भाषण र गतिविधिले विद्यार्थीहरूको भविष्य अन्योल बनिरहेको छ। तर, पद्मकन्या बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारीले भने पठनपाठनमा अवरोध नगरी शैक्षिक समस्याको समाधान र हकहितको लागि विद्यार्थीहरूले प्रत्येक्ष रूपमा अनुभूति गर्ने काम गरेको छ।’
आर्थिक वर्ष २०७९/०८० को परीक्षामा दुवै माध्यमबाट प्रश्नपत्र छपाइ गर्न अखिल क्रान्तिकारीले पेश गरेको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायमा यसबारे छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएका थिए।
Discussion about this post