सर्लाही : जिल्लाको मलंगवा नगरपालिका–७, मुसैलीमा बिहिवार (आज) बिहान नहरमा ट्याक्टर खस्दा एक बालकको मृत्यु भएको छ ।
खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्वरको ट्याक्टर बिहान साँढे सात बजे अनियन्त्रित भएर नहरमा खस्दा माछा मारिरहेका बालक १२ वर्षीय किशोर रवि साहको मृत्यु भएको मृत्यु भएको हो । अरू ३ जना बालक घाइते भएका छन्।
सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार ट्याक्टरले च्यापियर गम्भीर घाइते भएका मुसैलीका दिनेश साहका छोरा रविलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
ट्याक्टरले च्यापेर जवाहिर मन्सुरका १० वर्षीय छोरा सलमान मन्सुर र कौशल मन्सुरीका १० वर्षीय छोरा जमाल मन्सुर गम्भीर घाइते भएका छन् । दिनेश साहका १० वर्षीय छोरा आर्यन साह सामान्य घाइते भएका छन् । गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते आर्यन साहको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
दुर्घटनामा परेको ट्याक्टर र ट्याक्टरका चालकलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको नियन्त्रणमा रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
Discussion about this post