सुनसरी : सुनसरीको वराहक्षेत्रबाट जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कै सक्रियतामा झन्डै १० लाख नगद सहित १५ जुवाडे पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा एसपी सुमन तिम्सिनाको नेतृत्वमा गएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।
आज बिहान ४.४५ बजेको समयमा जिल्ला बराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहा स्थित जीवन कार्कीको घरमा जुवा तास खेलाइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी खटिएको थियो।
प्रहरी प्रमुख तिम्सिना सहित इलाका प्रहरी कार्यालय पलकीबाट प्रहरी निरीक्षक लेखनाथ दाहाल सहितको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ललितपुर सातदोबाटो बस्ने ४४ वर्षीय नवराज राई, इटहरी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५१ वर्षीय प्रदीप तामाङ, वराहक्षेत्र ५ बस्ने २७ वर्षीय नारायण कार्की, भोजपुर आमचोक बस्ने ४१ वर्षीय दुर्गाराज राई वराहक्षेत्र ३ बस्ने ३२ वर्षीय विदुर कार्की रहेका छन् ।
यस्तै वराहक्षेत्र ८ का खड्गबहादुर विष्ट,भोजपुर अरुण गाउँपालिका ३ का जीवन कार्की,वराहक्षेत्रकै दिनराज राई,उत्तम मगर,रामधुनी नगरपालिकाका शङ्कर लुइँटेल,भोजपुर हतुवागढिका ज्ञानबहादुर राई,वराहक्षेत्रकै रेवत थापा,खगेन्द्र कार्की,दीपेन्द्र कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राम तिम्सिनाले बताए ।
उनीहरूको साथबाट जुवाका कौडा,२० बुङ तास सहित १२ थान मोबाइल समेत बरामद गरिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले शनिवार पनि इनरुवाबाट पक्राउ परेका १६ जना जुवाडेलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।
Discussion about this post