इटहरी । १३औं अन्तर्राष्ट्रिय ह्वीलचियर रन प्रतियोगितामा विष्णुकान्त चौधरी र जानुका तामाङ च्याम्पियन बनेका छन् ।
बुधबार भएको प्रतियोगितामा पुरुषतर्फ चौधरीले उपाधि पाए भने महिलातर्फ तामाङ विजेता बनेकी हुन् ।
स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले इटहरीमा आयोजना गरेको प्रतियोगितामा आठ सय मिटर दौड विष्णुकान्तले दुई मिनेट ४२ सेकेन्डमा पूरा गरे ।
दोस्रो भएका प्रज्वल लिम्बूले दुई मिनेट ४६ सेकेन्ड र तेस्रो हुने सन्देश चौधरीले दुई मिनेट ४७ सेकेन्डमा त्यति दूरी पार गरेका थिए ।
महिलातर्फ आठ सय मिटर ह्वीलचीयर दौडमा उपाधि हासिल गरेकी तामाङले तीन मिनेट २७ सेकेन्ड, दोस्रो भएकी चन्द्रिका सरदारले चार मिनेट र तेस्रो बनेकी केशरकुमारी आले मगरले चार मिनेट २५ सेकेन्डमा दूरी पार गरिन् ।
महिला–पुरुष दुवै बिधातर्फ प्रथम, दोश्रो र तेश्रोले क्रमशः नगद १० हजार, सात हजार र पाँच हजार नगद हात पारे । चौधरी चार वर्षदेखि लगातार पहिलो हुँदै आएका छन् ।
कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हशंराज वाग्लेले समाजमा सकारात्मक सन्देश जाने कार्यक्रम आयोजना गर्नु आफैंमा सुखद पक्ष रहेको बताए ।
उनले यस कार्यक्रमका लागि विगतका वर्षहरुमा दिँदै आएको रकम बढाएर यो वर्ष पाँचलाख सहयोग गरेको जानकारी दिए ।
इस्पाइनल इन्जुरी संघ कोशी प्रदेश अध्यक्ष बिक्रम घिमिरेले अपाङ्ता भएका व्यक्तिहरुले पनि समाजमा केही गर्न सक्छन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले दिनरात घरबाहिर निस्कन नसक्दा आफूलाई कमजोर महसुुस हुने भएकाले यस्ता कार्यक्रमले उनीहरुलाई समाजमा चिनाउने र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सयभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु सहभागी भएका थिए ।
Discussion about this post