टीका खतिवडा
इलाम । कोरिया लैजाने भन्दै जनही ९१ हजार रकम उठाइरहेको पाइएको छ । बिना अनुमति वाइल्डिङको तालिम दिइएको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले अनुगमन समेत गरेको छ ।
अनुगमनपछि कागजपत्र नियन्त्रणमा लिएको छ । कुनै पनि देशमा सिजनल भिसामा कामदार जान पाउने आधिकारिक सूचना नभएको र यस्तो भ्रममा नपर्नु भनेर सरकारले सूचित गरेको छ । तर इलाममा कोरिया लैजाने र मासिक लाखौँ कमाउने प्रलोभनमा पारेर रकम असुल्ने काम भइरहको भन्दै प्रशासनले छापा मारेको हो ।
कोरिया गएर पानी जहाजमा काम पाइने भन्दै इलाममा युवाहरुलाई महँंगो शुल्क लिएर केही व्यक्तिले तालिम दिइरहेको पाइएको छ । सरकारको सम्बन्धित कार्यालयमा इजाजत समेत नलिई पैसा असुल्ने यस्तो कम्पनी र कलेजमा अनुगमन गरिएको हो ।
बिहिबार प्रशासनको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला प्रहरी लगायतको टोलीले अनुगमन गरेको हो ।
सुरेन्द्र राईले जनही ९१ हजार एक सय रुपैयाँ शुल्क लिएर काम लगाइरहेको पाइएको छ । कोरिया पठाउन थप सात लाख लाग्ने र स्वास्थ्य परीक्षण सफल भएमा जानेमा युवाहरु ढुक्क देखिएका छन् । तर अवैध रुपमा तालिम लिएर ठगी गरेको उजुरी परेपछि कागजात नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।
कोरियन भाषा पठाउने नाममा कोरिया नै पठाइदिने प्रलोभन दिएर तालिम लिइरहेको राईको मुस्कान इन्जिनियरिङ टेक्निकल इन्स्टिच्युट र कोरियन भाषा पढाइरहेको इलाम बजारको कान्तिपुर मल्टी टेक्निकल कलेजमा अगुवाइमा अनुगमन गरिएको हो ।
झापामा कम्पनी खोलेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट तालिमको स्वीकृति लिएर राईले तालिम सञ्चालन गरेको पाइएको छ । उनले भने विदेश पठाउनलाई तालिम नदिएको दाबी गरे ।
दुई महिना तालिम लिएपछि कोरिया जान पाइने प्रलोभनमा करिव पाँच सय युवाले राईको इन्स्टिच्युटमा तालिम लिइरहेका छन् । राईले आफ्नो व्यक्तिगत घर र पानी जहाजकै आकारमा बन्ने घरमा वाइल्डिङको काम लगाएको पाइएको छ ।
इलामको माइजोगमाई र रोङ गाउँपालिकाका युवा गाउँ पालिकाले नै रोजगारीका लागि कोरिया पठाउने भनेर तालिममा आएको बताएका छन् । तर गाउँपालिकाले यस्तो कोरियाको श्रम स्वीकृति नभएको जनाएको छ ।
बुझेर मात्र काम गर्न बैदेशिक रोजगारीमा जान परामर्शमा लागि जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालनमा छ । सोही कार्यालय मार्फत समेत निःशुल्क काम सिकाउने सम्म ब्यवस्था भएको सूचना परामर्श दाता कल्पना थापाले बताइन् ।
यस बिषयमा पैसा तिर्ने कामदारहरुले आफुहरु यस बिषयमा बोल्न चाहेनन् । उनीहरुले आफू पछि परिने डरले नाम उल्लेख गर्न मानेनन् ।
Discussion about this post