इलाम । इलाम कारागार भित्र मदिरा सेवन गर्दै जुवातास खेल्दै गरेको भिडियो सार्वजनिक भएपछि छानबिन समिति गठन गरियो । तर समितिले बुझाएको प्रतिवेदनमा खास कुरा केही नभेटिएको बताइएको छ ।
नेपालकै पहिलो नमुना सुधार गृहको रूपमा भौतिक संरचना निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयले बनाएको छानबिन समितिले औपचारिकता पुराका लागि मात्र पुरा गर्न प्रतिवेदन बुझाए झै देखिन्छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरीकुमार थापाको संयोजकत्वमा बनेको छानबिन समितिले छानबिन त गर्यो, तर मुख्य विषय पत्ता लगाउन नसकेको देखिन्छ ।
छानबिन समितिले बुझाएको प्रतिवेदनमा कारागारभित्र मदिरा र तास कसरी प्रवेश गराइयो भन्नेबारे कुनै तथ्य खुल्न सकेको छैन । सो भिडियो सोही कारागार भित्र भएको पुष्टि भएपनि कहिलेको भिडियो हो भन्ने सम्म खुल्न सकेको छैन । मात्र प्रतिवेदनमा पुरानो भिडियो भनिएको छ ।
तास खेलेको र मदिरा पिएको भिडियो ११ महिना अघिको भएको दावी गरिएको प्रतिवेदनमाउल्लेख छ । मदिरा र तास कारागारभित्र कसरी, कसले प्रवेश गराइयो भन्ने पनि खुल्न नसकेको जनाइएको छ । ११ महिना अघिको भिडियो भएको दावी गरेपनि त्यो बेलाका कर्मचारी र सुरक्षाकर्मीहरुको बारेमा सुक्ष्म अध्ययन नगरेको पाईएको छ ।
प्रतिवेदनले तत्कालिन कर्मचारी र कारागारमा खटिएका सुरक्षाकर्मीको सेटिङलाई बचाउ गरेको देखिन्छ । प्रतिवेदनले भिडियो पुरानो भएकाले कारागारका अहिलेका कर्मचारी र सुरक्षाकर्मी उक्त घटनामा नमुछिएको देखाएको छ ।
प्रतिवेदनका अनुसार ११ महिनाअघि कारागारको २ नम्बर ब्लकमा एक कैदीको मृत्यु भएको थियो । मान्छे मरेका बेला राति जागै बस्नुपर्छ भन्दै कैदी–बन्दीले तास खेलेको र मदिरा पिएको भिडियो त्यति बेलाका असन्तुष्ट चौकीदारले खिचेको प्रतिवेदनमा उल्लेख गरेको छ । एक कैदीलाई चौकीदारबाट हटाइएपछि उनी असन्तुष्ट रहेकाले उनै चौकीदारले भिडियो रेकर्ड गरेको र एक महिला कैदीमार्फत सार्वजनिक गराएको निष्र्कश प्रतिवेदनले निकालेको छ ।
समितिले २५ फागुनमा बुझाएको प्रतिवेदनले भिडियो अहिलेको नभएको देखाएपनि कसकसको संलग्नता रहेको खुल्न नसकेको प्रमुख जिला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । भिडियोमा देखिएका केही कैदी यसअघि नै स्थानान्तरण भइसकेको र हाल रहेका सुरक्षाकर्मी पनि घटनामा संलग्न नभएको प्रतिवेदनमा उल्लेख भएको प्रजिअ पोख्रेलले बताए ।
प्रतिवेदनमा आगामी दिनका लागि सातवटा नीतिगत सुझाव दिएको प्रजिअ प्रजिअ पोख्रेलले बताए । प्रतिवेदनले आन्तरिक प्रशासनका चौकीदार र नाइकेलाई बढी जिम्मेवार÷जबाफदेही बनाउनुपर्ने, कारागारमा लगिने खाद्यान्नको सूक्ष्म जाँच गर्नुपर्ने, कैदी भेटघाट कक्ष व्यवस्थित गरी बढी निगरानी गर्नुपर्ने, कारागार प्रशासन र सुरक्षाकर्मीबिचको समन्वय प्रभावकारी बनाउनुपर्ने, स्थानीय व्यक्तिलाई चौकीदारका रूपमा राख्न नहुने, कारागार प्रशासनका कर्मचारीलाई बढीमा १ वर्ष र सुरक्षाकर्मीलाई ६÷६ महिनामा परिवर्तन गर्नुपर्ने जस्ता विषयमा सुझाव दिएको प्रजिअ पोख्रेलले जानकारी दिए ।
कारागारका कैदीबन्दीले जेलभित्रै तास खेलेको र मदिरा पिएको आएपछि स्थानीय प्रशासनले केही कैदी–बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर समेत गरेको जनाएको छ । आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका महिला तथा पुरुष दुवैतर्फका चौकीदार र भिडियोमा देखिएका कैदीलाई कारागार विभागको निर्देशनमा स्थानान्तरण गरिएको जनाएको छ ।
गत १५ फागुनमा इलाम कारागारभित्रका कैदी र थुनुवाले मदिरा सेवन गरी तास खेलेर मनोञ्जन गरिहरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत थापाको संयोजकत्वमा तिन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
कारागारभित्र निषेधित वस्तु प्रवेश गर्नुमा कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सेटिङ भएको भन्दै व्यापक आलोचना भएको छ । मान्छेलाई सुधार्न निर्माण गरिएको कारागारमा नै कानुनले वर्जित गरिएको काम भएपछि कारागार प्रति नै जनताको विश्वास घटेको छ । इलाम कारागारको क्षमता १ सय २५ जनासम्मको भए पनि हाल दुई सय ८० जना कैदीबन्दीहरु रहेका छन ।
Discussion about this post