काठमाडौं । कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।
छलफलमा कोशी प्रदेश नामाकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।
नामकरणको विरोधमा पहिचानवादी संगठनहरुले प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरेका थिए ।
त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भएको थियो । झडपका क्रममा केही प्रहरी र केही आन्दोलनकारी घाइते भएका थिए ।
घाइते आन्दोलनकारीमध्ये पदम लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीले टाउकामा गरेको लाठी प्रहारको चोटका कारण उनको मृत्यु भएको आन्दोलनकारीले जनाएका छन् ।
Discussion about this post