ओखलढुङ्गा / चट्याङ लागेर शुक्रबार २ जनाको मृत्यु भएको छ। दिउँसो पानीसँगै परेको चट्याङ लागेर सिरहामा एकजना पुरुष र ओखलढुङ्गामा एकजना युवतीको ज्यान गएको हो। ओखलढुङ्गामा अर्की एक बालिका समेत घाइते भएकी छन्।
सिरहा मिर्चैयामा ना ५ ख ३७ २१ नम्बरको ट्रकमा चट्याङ लागेर चालक रौतहट चन्द्रपुर नगरपालिका अलटुकीका ४३ वर्षका नेत्रप्रसाद गौतमको मृत्यु भएको छ।
मिर्चैयास्थित सौर्य सिमेन्ट इण्डस्ट्रिजमा पुगेको बेला दिउँसो वर्षासँगै परेको चट्याङ लागेर गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर सिकिस्त भएका उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका ६ की २० वर्षीया शर्मिला कार्कीको चट्याङ लागेर मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। उनका अनुसार अर्की १३ वर्षीया अरुणा कार्की घाइते भएकी छन्। मृतक र घाइते दिदीबहिनी हुन्। उनीहरु सानीमा र ठूलीआमाकी सन्तान रहेका प्रहरीले जनाएको छ।
दिउँसो खेतमा गहुँ काटिरहेका बेला चट्याङ लागेर घाइते अरुणालाई स्वास्थ्य चौकी रानीवनमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक दासले बताए। शर्मिलाको रानीपनमा उपचारकै क्रममा ज्यान गएको हो।
Discussion about this post