काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने आश्वासन दिएका छन ।
न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘अब ऐन बनाउने काम पनि सरकारले गर्छ । कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गर्छु,’ उनले भने, ‘म यो समस्या समाधानका लागि गर्न पर्ने सबै काम गर्छु ढुक्क हुनुस् ।’ उनले गृहको टोलीसँग बार्ता गरी सहमति गरेर ढुक्क भएर घर जान पीडितलाई भनेका छन् ।
मिटरब्याज समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग बनाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको बताउँदै उनले न्याय पाइन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे । यसैबिच सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ ।
पीडितको गुनासो र उजुरी लिएर तत्कालै न्यायिक कारबाही गर्न सक्ने कानुनी अधिकारसहितको बयोग गठन र यसले आइतबारसम्म पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
‘प्रतिवेदन बुझाउन होइन कारबाही नै गर्ने गरी आयोग गठन भएको छ,’ उनले भने, ‘आइतबारसम्म आयोगले पूर्णता पाउँछ ।’ पूर्वन्यायाधीश वा आयुक्त तहबाट नेतृत्व हुने आयोगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य रहनेछन् । आयोगका सबै सदस्यहरू भने टुंगिसकेको छैन् । सबै जिल्लामा आयोगको संरचना रहनेछ ।
Discussion about this post