काठमाडौँ । नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ ।
परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको टोलीले महतलाई आइतबार सुझावहरु दिएको हो ।
हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने, लगानीका लागि प्रोत्साहन गर्नुपर्ने परिसंघको सुझाव छ ।
ब्याजदर घटाउन तथा तरलताको स्थिति सहज बनाउन सीआरआर ३ प्रतिशतमा झारिनुपर्ने, नीति दर र बैंक दर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको संचित कोषमा भएको मौज्दात रकम शत प्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव परिसंघले दिएको छ ।
यस्तै मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम ५ प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, सेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ ।
निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसंघले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्ने परिसंघको ठहर छ ।
अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका सकारात्मक ‘सेन्टिमेन्ट’ सिर्जना गर्न लागि पर्ने बताए । निजी क्षेत्रसँग सहकार्य गरेर आफू अघि बढ्ने महतको भनाइ छ ।
Discussion about this post