काठमाडौं । बेलायत र नेपाल सरकार (जीटुजी) स्तरीय वार्तामा समान पेन्सन एजेण्डा ओझेल पार्न खोजिएको भन्दै भूतपूर्व गोर्खाहरूले बेलायती प्रधानमन्त्रीलाई आन्दोलनको अल्टिमेटम दिएका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले शनिबार दिउँसो टेन डाउनिङ स्ट्रिट सेन्ट्रल लन्डनमा रहेको बेलायती प्रधानमन्त्री कार्यालयमार्फत प्रधानमन्त्री ऋषि सुनकलाई अल्टिमेटम दिएको हो ।
आउँदो १९ अप्रिलमा तय भएको त्रिपक्षीय वार्तामा पेन्सन मुद्दामा छलफल नभए वार्ता वहिष्कार गरी १ मेदेखि सशक्त आन्दोलन घोषणा गर्ने अल्टिमेटम दिइएको हो ।
अल्टिमेटम बुझाएपछि समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बेलायतले यसपटक पनि ‘वेलफेयर प्याकेज’ भनेर भूतपूर्व गोर्खालाई झुक्याउन खोजेको आरोप लगाए ।
‘आउँदो वार्तामा पेन्सन सवाल उठेन भने वार्ता छोडेर १ मेदेखि हामी कडा आन्दोलनमा उत्रनेछौं’, राईले चेतावनी दिए ।
समितिले शनिबारै लन्डनस्थित नेपाली दूतावास गएर राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि उही अल्टिमेटम बुझाएको छ ।
Discussion about this post