इलाम । इलामको दक्षिणी क्षेत्र माइ नगरपालिका ६ को विहिबारे र वडा १ को घण्टे जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । आठ सय २० मिटर लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको हो ।
नेपालमा निर्माण भएका मध्ये दोस्रो लामो झोलुङ्गे पुल रहेको बताइएको छ । पुल निर्माण पछि दिनमा माइ नगर पालिकालाई हस्तान्तरण गरिएको छ । झोलुङ्गे पुल निर्माण पछि माइखोला वारपार गर्न सहज भएको छ ।
(मल्टी स्पान–बहुतरी) पुलको लम्बाई ८ सय २० मीटर रहेको छ । यस अघि महाकाली चाँदनी दोधारा जोड्ने एक हजार चार सय ५२ मीटर लामो पुल बनेको थियो । स्थानीय पुर्वाधार विभाग सस्टेन्सन ब्रीज डिभिजनका इञ्जिनियर उपेन्द्र देवकोटाले त्रिवेणी सुस्तामा एक हजार पाँच सय ७२ मिटर लामो झोलुङ््गे पुल निर्माण हुने जानकारी दिए । यस्तै सिन्धुलीमा कमलामाईमा समेत यस्तै पुलको डिजाइन गरिएको छ ।
संघीय मामीला तथा सामान्य प्रशासन मंत्रालय अन्तर्गत स्थानीय पुर्वाधार विभागबाट ८ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो । निर्माण कम्पनी थानी हिमशिखर जेभीले पुल निर्माण गरेको हो । सात वटा पिलर सहित निर्माण भएको यो झोलुङ््गे पुलको चार वटा टावर रहेका छन् ।
माई खोलामा पुल निर्माण भएपछि माइ नगरपालिका १ को घण्टे देखि लिएर देउमाई नगरपालिका जितपुर सम्मका बासीन्दालाई आवत जावत गर्न सहज भएको छ । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जान मद्धत पुगेको स्थानीय प्रेम बहादुर कार्कीले बताए । उनका अनुसार यो पुलले स्थानीयलाई इलाम सदरमुकाम जान समेत सहज भएको छ । यो क्षेत्रमा पुल नहुँदा गएको वर्षामा मात्र तिन जना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । माइ नगरपालिकाकै सोहि खोलामा पर्ने चण्डालघाटमा गत वर्ष मात्र पाँच सय ५० मिटर लामो पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।
पक्की पुल निर्माण भएपनि माइको पश्चिमी भेगका बासिन्दालाई माइखोला वारपार गर्न समस्या रहेको थियो । यो क्षेत्रमा किराँत धर्मगुरु फाल्गुनन्दले तपस्या गरेको स्थान खत्रक्पा, माइ नगरपालिकामा संरक्षण शुरु भएको १३ कुने सिमसार क्षेत्र रहेकाले झोलुङ््गे पुलको महत्व झनै बढेर गएको छ । चाँदनी दोधारामा बनेको पुल निकै चर्चामा छ । स्थानियलाई सहज मात्र हैन पर्यटक भित्रियाउन समेत यस पुलले मद्धत गर्ने बिश्वास लिइएको छ ।
गण्डकी प्रदेश स्थानीय पुर्वाधार विकास आयोजना कार्यालयका प्रमुख कुमार थापाले चाँदनी दोधारामा बनेको पुल झै माइ खोलाको पुलले पनि चर्चा बटुल्न सक्ने बताए । भर्खरै सम्पन्न यस पुलमा हाल घुम्न र पुल हेर्न पनि मानिसहरुको आवतजावत बढ्न थालेको छ । पुल लामो भएकै कारण यहाँ पर्यटकहरुको चहलपहल बढ्न सक्ने स्थानियले समेत अनुमान गरेका छन् । हिँडेर वारपार गर्दा निकै समय लाग्ने भएकाले पनि यो पुल जिल्ला वासीहरुका लागि पनि नौलो हो । यहाँ झापा जिल्ला नजिक भएका कारण सो क्षेत्रबाट समेत मानिसहरु हेर्न आउने गरेका छन् । यस पुलमा फोटो खिचाउनै पनि पर्यटकहरु आउने गरेको बताइएको छ ।
Discussion about this post