विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा रहेको कोसी अस्पतालमा मृगौलाको प्रत्यारोपण सुरु गर्न द्विपक्षीय सम्झौता भएको छ ।
पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कोसी अस्पताल विराटनगरबीच मंगलबार सम्झौता भएको हो । सम्झौता पत्रमा कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। रविनराज सिंह र केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठको हस्ताक्षर छ ।
सम्झौतालगत्तै सेवा सुचारु गर्न तयारी तीव्र पारिएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए । उनका अनुसार मृगौलाका बिरामीले डायलाइसिस सेवासमेत नपाउने अवस्था रहेकाले प्रत्यारोपण सुरु गर्नुपर्ने अवस्था आएको हो । नेपालमा कलेजो र मृगौलाको प्रत्यारोपण सुरु भइसकेको भएपनि आवश्यकता अनुसार सेवा उपलब्ध नहुँदा मृगौला ‘फेल’ भएकाहरुले डायलाइसिस गराउन नपाइरहेको बुढाथोकी बताउँछन् ।
बिरामीले मृगौलाको डायलाइसिस पाउन मुस्किल परिरहेका कारण मृगौलाको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाउन सरकारी अस्पतालमा प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ । मृगौला ‘फेल’ भएका बिरामीले नियमित डायलाइसिस गराउनुपर्ने हुन्छ । प्रत्यारोपणपछि डायलाइसिस गराउनु पर्दैन ।
प्रत्यारोपण सेवा सुचारु गर्न अस्पताल प्रशासन र विकास समिति सक्रिय बनेको बुढाथोकीको भनाइ छ । महेश भट्टराईको नेतृत्वमा अस्पताल विकास समिति छ । समिति अहिले अस्पताल सुधारमा केन्द्रित रहेको बुढाथोकी बताउँछन् । ‘अस्पतालको अवस्था, सेवाप्रवाह, सरसफाई, भौतिक पूर्वाधार निर्माण र उपचारलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विकास समिति सक्रिय छ,’ उनले भने, ‘अस्पताल प्रशासनलाई साथमै लिएर सुधारका कामलाई अघि बढाइएको छ ।’
उनका अनुसार आर्थिक अवस्था कमजोर भएकाहरु उपचारका लागि आउने सरकारी अस्पतालमा सेवाको विस्तार, प्रभावकारी एवं व्यवस्थित उपचार, मर्मतसम्भार गरेर कवाडी सामग्रीबाट बेड निर्माणलगायतका काम तीव्र गतिमा भइरहेको छ । अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या पनि चाँडै समाधान हुने बुढाथोकीले बताए ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनुसार डायलाइसिस सेवासमेत विस्तार गर्दै कोसी अस्पतालमा मृगौला ‘फेल’ भएका बिरामीको मृगौला प्रत्यारोपण सुरु गर्न लागिएको हो । केन्द्रले दिइरहेको सेवालाई थप व्यवस्थित बनाउँदै सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने उदेश्य छ ।
सम्झौता अनुसार मृगौला प्रत्यारोपण सेवाका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम, फेलोसिपलगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने छ । मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन पनि सहकार्य गर्ने सम्झौता भएको छ ।
जनशक्ति र भौतिक संरचना तयार हुनासाथ आवश्यक सामग्री जुटाएर सेवा सञ्चालनमा ल्याइने कोसीका निमित्त मेसु सिंहले बताए । जतिसक्दो चाँडो सेवा सुचारु गर्नका लागि व्यवस्थापनको पाटोलाई ध्यानमा राखेर काम अघि बढाइएको उनको भनाइ छ । डा। सिंहले सेवा सञ्चालनपछि मृगौलाको उपचार थप प्रभावकारी बन्ने बताए ।
नेपालमा करिब ७० प्रतिशत मृत्यु नसर्ने रोगका कारण भइरहेको छ । जसमा मधुमेह, उच्च रक्तचाप, मृगौला रोग, क्यान्सर र विभिन्न दुर्घटनाको चोटपटकका कारण हुने मृत्यु पर्दछ । मुलुकमा प्रत्येक वर्ष करिब ३ हजार जनाको मृगौला ‘फेल’ हुने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १ हजार जनाको कलेजो ‘फेल’ हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
Discussion about this post