जनकपुरधाम : सामाजिक सञ्जालको माध्यमबाट ठगी गर्ने एक सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। १९ देखि २३ वर्ष उमेर समूहका ७ जना युवालाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा धनुषाका सुरज साह, श्यामसुन्दर महरा, राम कुमार महरा, सर्लाहीका नितेश कुमार साह, महोत्तरीका रोशन साह, सुधीरकुमार महतो र अमित साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत लोकप्रिय ब्राण्डका मोबाइल, लत्ताकपडा लगायतका सामग्री सस्तो मूल्यमा दिने भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएका थिए।
अनुसन्धानमा उनीहरूले २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजमार्फत आकर्षक फोटो तथा भिडियो पोष्ट गरी विश्वास जित्थे र ग्राहक बनेका व्यक्तिहरूलाई अग्रिम रकम पठाउन बाध्य बनाउँथे। सोही क्रममा उनीहरूले विभिन्न व्यक्तिका नाममा बैंक, वित्तीय संस्था तथा मोबाइल वालेटहरूमा खाता खोलाइ अनलाइनमार्फत रकम जम्मा गराउँथे।
पक्राउ परेकाहरूको साथबाट बरामद मोबाइल तथा डिजिटल प्रमाणका आधारमा हालसम्म १८७ वटा बैंक तथा वालेट खाताहरूमा २ करोड ६३ लाख ९३ हजार १९१ रुपैयाँको कारोबार भएको पुष्टि भएको छ।
उनीहरूमाथि ठगीसम्बन्धी मुद्दा दर्ता भई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया