धरानकी उषा राईको कुटपिटमा संलग्न ४ महिला प्रहरीद्धारा सार्वजनिक

मंगलबार, २० मंसिर २०७९
धरान उपमहानगरपालिका १३ की ४२ वर्षीय उषा राईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले आज पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठका अनुसार प्रहरीले हत्यामा संलग्न धरान १३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान १७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बू सुब्बालाई सार्वजनिक गरेको हो । घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकोले उनीहहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएकी राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । अमरघाटमा सिलाई–बुनाईको काम गर्ने उषा र उर्मिला राईको बीचमा विवाद थियो । हत्यामा संलग्न मुख्य आरोपित उर्मिलाले आफ्ना श्रीमान् गोविन्द राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समूहका सदस्यहरूलाई बोलाएर कुटपिट गर्दा उषा गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि पहिचान तथा खोजी गर्ने कार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार