ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकहरूले गरे चकित पार्ने खुलासा

शनिबार, ०३ जेठ २०८२

काठमाडौँ : विश्व प्रसिद्ध भौतिकशास्त्री स्टीफन हकिङको ब्ल्याक होल सम्बन्धी सिद्धान्तलाई आधार मानेर वैज्ञानिकहरूले अब ब्रह्माण्डको अन्त्यको सम्भावित समयको भविष्यवाणी गरेका छन्। नयाँ अध्ययन अनुसार, हाम्रो ब्रह्माण्ड अन्ततः एक क्विन्भिजिलियन वर्षपछि (१ पछि ७८ वटा शून्य वर्ष) पूर्ण रूपमा समाप्त हुनेछ।

नेदरल्याण्डस्थित र्याडबाउड युनिभर्सिटीका प्रोफेसर ह्यानो फाल्के र उनको टोलीले गरेको अनुसन्धान अनुसार, अन्तिम ताराहरू निभेपछि ब्रह्माण्डमा बाँकी रहेका न्यूट्रोन तारा, सेतो बौना (ह्वाइट ड्वार्फ) र ब्ल्याक होलहरू पनि क्रमशः वाष्पीकरण भएर लोप हुनेछन्।

वैज्ञानिकहरूले यो प्रक्रियालाई हकिङ विकिरणसँग जोड्दै न्यूट्रोन ताराहरू करिब १०⁶⁸ वर्षमा मर्ने र सुपरमासिभ ब्ल्याक होलहरू १०⁹⁶ वर्षसम्म अस्तित्वमा रहने बताइएको छ। सेतो बौना जस्ता चिसो ताराहरू सबैभन्दा लामो समयसम्म — १०⁷⁸ वर्ष — टिक्नेछन्।

त्यो समयसम्म ब्रह्माण्ड पूर्ण रूपमा अन्धकारमय, शीतल र ऊर्जा-विहीन हुनेछ। कुनै नयाँ तारा बन्ने छैन, कुनै प्रकाश रहने छैन। यही अवस्थालाई वैज्ञानिकहरूले "ब्रह्माण्डको अन्तिम मृत्यु" को रुपमा व्याख्या गरेका छन्।

यो अध्ययनले ब्रह्माण्डको भविष्यको चित्रण गर्दै विज्ञान र ब्रह्माण्ड सम्बन्धी बहसलाई अझ गहिरो बनाएको छ। वैज्ञानिकहरूको एक नयाँ अनुसन्धान अनुसार, आगामी १५० देखि २०० बिलियन वर्षमा ब्रह्माण्ड यति तीव्र रूपमा विस्तार हुनेछ कि पृथ्वीबाट अन्य आकाशगङ्गाहरू हेर्न नसकिने अवस्था आउनेछ।

ब्रह्माण्ड विस्तारको गति बढ्दै जानु ‘डार्क इनर्जी’ नामक शक्तिको असर भएको बताइन्छ, जसले अन्तरिक्षलाई फैलाउँदै लैजान्छ। यो प्रक्रिया जारी रहँदा ब्रह्माण्ड एक दिन पूर्ण रूपमा खाली र उजाड हुनेछ।

अनुसन्धान अनुसार, ब्रह्माण्डको अन्त्य त निकै परको कुरा हो, तर हाम्रो सौर्यमण्डल भने त्यसभन्दा धेरै अगाडि नै विनाश हुनेछ। वैज्ञानिकहरूका अनुसार सूर्य करिब ५ अर्ब वर्षमा यति धेरै विस्तार हुनेछ कि त्यसले पृथ्वीलाई निल्न सक्छ। त्यसपछि ब्रह्माण्डका अन्तिम ताराहरू पनि १७ ट्रिलियन वर्षपछि निभ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार