काठमाडौं : समाजमा फैलिँदै आएको विकृति र अनुशासनहीनताविरुद्ध शहीदनगरका जागरूक युवाहरूले “शहीदनगर युवा मञ्च” गठन गरेका छन्।
आइतबार, २०८२/०७/०२ मा नगरका विभिन्न वडाबाट आएका युवाहरूको भेलाले शान्ति, संस्कार र सामाजिक उत्तरदायित्वमा आधारित युवा नेतृत्वको आवश्यकता औपचारिक रूपमा घोषणा गरेको छ।
बैठकले नगरभित्र बढ्दो ध्वनि प्रदूषण (लाउडस्पिकरको अनियन्त्रित प्रयोग), अश्लील गीत तथा नृत्यका कार्यक्रमबाट फैलिएको सामाजिक विकृति, र चाडपर्वमा कमजोर सुरक्षा अवस्थाबारे गम्भीर ध्यानाकर्षण गराएको छ।
यस विषयमा तत्काल कदम चाल्न माग गर्दै युवाहरूले इलाका प्रशासन कार्यालय, प्रहरी कार्यालय र नगरपालिकामा औपचारिक ज्ञापनपत्र बुझाएका छन्।
युवाहरूले चेतावनी दिएका छन् — “यदि सम्बद्ध निकायले समयमै पहल गरेन भने हामी गाउँ–गाउँमा जनचेतना अभियान सञ्चालन गर्नेछौँ।”
शहीदनगर युवा मञ्चले सामाजिक सन्तुलन, नागरिक मर्यादा र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै विद्यालयस्तरमा सामाजिक सचेतना कार्यक्रम, सांस्कारिक गीत–सङ्गीत प्रतियोगिता र युवा नेतृत्व विकास अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ।
मञ्चका प्रतिनिधिहरूका अनुसार, “हामी कुनै दलको नभई समाजकै आवाज हौँ। शान्ति र संस्कार हाम्रो मुख्य लक्ष्य हो।”
प्रतिक्रिया