काठमाडौँ – शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूसँग रोलेक्स घडी रहेको खुलासा गर्दै त्यसको उत्पत्ति र व्यवहारमाथि व्यङ्ग्य गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा रोलेक्स घडीको तस्बिर राख्दै उनले भनेका छन्, “मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ। यो घडी मैले आफैंले किनेको होइन।”
उनका अनुसार, यो घडी ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक वृद्ध दम्पतीले फुङलिङ बजारमा उपहारस्वरूप दिएका थिए। उनले घडी नमान्दा पनि जबरजस्ती दिन खोजिएको बताए।
सञ्चारमन्त्री जगदीश खरेलको घडीबारे सामाजिक सञ्जालमा चर्चा चलेको विषयलाई लिएर मन्त्री पुनले व्यङ्ग्य गर्दै भनेका छन्, “मैले लगाएर हिँडेको भए बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ।”
उनले ३ वर्षअघि बेलायत बस्ने एक साथीले दिएको रोलेक्स घडी फेसबुकमा राखेर बेचिदिएको खुलासा पनि गरेका छन्। तर, अहिले प्राप्त घडी भने तत्काल नबेच्ने उनले स्पष्ट पारेका छन्। मन्त्री पुनले थपे, “तर यो अहिलेको घडी तुरुन्तै बेच्दिन।🙏🙏🙏 गाह्रो छ हौ म भटभटे मन्त्रीलाई।”
प्रतिक्रिया