इटहरी : चर्चित साहित्यकार सीमा आभासको नवीनतम उपन्यास ‘महायुग’ माथि शनिवार इटहरीमा सशक्त विमर्श कार्यक्रम सम्पन्न भयो ।
सञ्चारिका समूह सुनसरीको आयोजनामा भएको उक्त कार्यक्रममा कविद्वय मनु मञ्जिल र टिका आत्रेय तथा समालोचक डा.अस्मिता विष्टले उपन्यासका विभिन्न पक्षमाथि गहिरो विश्लेषण प्रस्तुत गरे ।
कार्यक्रममा बोल्दै कवि टिका आत्रेयले ‘महायुग’ का हरेक पात्रलाई आफैँमा एक विश्वविद्यालय भएको उल्लेख गर्दै भनिन्, “यो उपन्यासका पात्रहरू जीवनका गहिरा अध्याय हुन् — जसले उपन्यासलाई सशक्त बनाएका छन्।”
समालोचक डा.अस्मिता विष्टले ‘महायुग’ लाई स्पष्ट रूपमा महिलावादी दृष्टिकोणमा उभिएको कृति बताइन् ।
उनले भनिन्, “पुरुषहरूले महिलाको सृजनालाई कब्जा गरेको परिवेशमा यो उपन्यासले ती सत्ताहरू भत्काउने र नारी सृजनाको शक्ति स्थापित गर्ने प्रयास गरेको छ।”
त्यस्तै कवि मनु मञ्जिलले लेखक सीमा आभासको कल्पनाशक्ति र विचारगत गहिराइको प्रशंसा गर्दै भने, “लेखक आभासले ‘महायुग’ मार्फत नारी भाषाको जग पुनः जगाउने साहसिक प्रयत्न गर्नुभएको छ । यो नारी चेतनाको नवीन युगको उद्घोष हो।”
कार्यक्रमको दोस्रो सत्रमा लेखक आभास स्वयं सहभागी भई उपस्थित साहित्यप्रेमीहरूले राखेका प्रश्नहरूको जवाफ दिइन् । विमर्श सत्रको समन्वय युवा साहित्यकर्मी प्रज्वल पराजुलीले गरेका थिए ।
कार्यक्रम सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रञ्जना पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासचिव ज्योति पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया