काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जनताको सानो–सानो सहयोगकै कारण आफ्ना ठूला अभियानहरू सफल हुँदै आएको बताएका छन्।
पुनका अनुसार जनताको भरोसा र विश्वासकै कारण उनले सुरु गरेका कामहरू सम्भव भएका छन्।
“३२ वर्षअघि अमेरिकाबाट फर्केर आएको, व्यक्तिगत रूपमा खासै कमाइ नभएको मान्छेले पनि जनताको साथ र विश्वासकै कारण करिब २ सयभन्दा बढी गाउँमा इन्टरनेट पु¥याउन, सात वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र चलाउन, कोरोना महामारीमा स्वास्थ्य सामग्री निःशुल्क वितरण गर्न र ३० वर्षदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न सफल भएको हो,” पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनका अनुसार परिवार पाल्न, छोरीहरूको पढाइ खर्च व्यवस्थापन गर्न समेत साथी–सहयोगी र शुभेच्छुककै भरोसा छ।
“अहिलेसम्म मलाई र श्रीमतीलाई पाल्ने, छोरीहरूको पढाइ दिने काम साथीहरूले नै गर्छन्। मन्त्री भए पनि खर्च पहिले देखि नै शुभचिन्तकहरूले धानिरहेका छन्। म तलब–भत्ता लिँदिनँ। कतै जाँदा हवाई टिकट, बस भाडा, ट्याक्सी भाडा म आफैँ तिर्छु,” पुनको भनाइ छ।
उनले आफ्नो जीवनयात्रा बुझ्न चाहनेलाई आत्मकथा पढ्न आग्रह गरेका छन्। “सबै कुरा विस्तृत रूपमा बुझ्न चाहनेले मेरो आत्मकथाको किताब पढ्न सक्छन्,” पुनले भनेका छन्।
जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो प्रेरणा भएको उल्लेख गर्दै पुनले शिक्षा, विज्ञान, अनुसन्धान र प्रविधिको विकासलाई अझ सबल बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया