उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आह्वान

आइतबार, १८ साउन २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन् ।

अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रवार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै घिसिङले आफूले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठुलो आशा गरेको बताए । कार्यक्रममा बोल्दै उनले भने,‘वास्तवमा देश बनाउन तपाईँहरूको ठुलो भूमिका रहेको छ । देशको सम्वृद्धिको लागि, देशमा सुशासन कायम गर्न र देशको समग्र विकासको लागि तपाईँहरूबाट ठुलो आशा गरेको छु । आफ्नो आफ्नो क्षेत्रमा रहेर विभिन्न भूमिका तपाईँ सबैले निभाउनुपर्छ यो एक्सनमा तपाईँहरू पनि आउनुपर्छ भन्ने मेरो अनुरोध हो ।’

उनले अगाडि भने,‘उज्यालो नेपाल त बन्यो अब उज्यालो नेपाल अभियान लिएर म आएको छु । केही दिन अघि बहराइनबाट उज्यालो नेपाल अभियान घोषणा गरेर आएको छु । कुनै नेता वा नेतृत्व जन्मिनु भन्दा पनि देश समृद्ध कसरी बनाउने भन्नेतर्फ रोडम्याप तयार गर्नु सबैभन्दा महत्त्वपूर्ण विषय हो ।

उज्यालो नेपाल अभियान समृद्धिको अभियान, सामाजिक न्यायको अभियान, रोजगारीको अभियान र देशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने अभियान भएको बताउँदै घिसिङले देशभित्र र बाहिर भएका श्रम शक्तिलाई एकीकृत गरी परिवर्तनतर्फ अगाडि बढाउने एउटा अभियान भएको बताए ।

कुलमान घिसिङले ‘उज्यालो अभियान’ नामक पार्टी खोल्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भ जोड्दै उनले नेपालमा राजनीतिक परिवर्तन धेरै भए पनि आर्थिक रूपान्तरण हुन नसकेको बताए ।

साथै, नेपालमा विकास गर्न सक्ने नेतृत्व जन्मिन नसकेको बताउँदै उनले जनतालाई डेलिभरी दिन सक्ने खालको नेतृत्व चाहिएको बिचार व्यक्त गरे । त्यसका लागि एउटा राम्रो टिम बन्नुपर्ने र त्यसले नेपाललाई परिवर्तनतर्फ लैजाने उनको भनाई छ ।

घिसिङ उज्यालो अभियानको सिलसिलामा यतिखेर अमेरिकाको विभिन्न स्थानहरूको भ्रमणमा छन् । उनले पछिल्लो कार्यक्रम टेक्सासकै अस्टिनमा गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार