इलाममा एक वर्षमा १०२ जनाले आमाको नामबाट पाए नागरिकता

आइतबार, १८ साउन २०८२

इलाम : इलाममा गत आर्थिक वर्ष २०८१/८२ मा १०२ जनाले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय इलामले दिएको जानकारीअनुसार ती नागरिकताहरू बुवा पत्ता नलागेका अवस्थामात्र प्रदान गरिएका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी भोला गुरागाईंका अनुसार सो वर्षमा जिल्लामा जम्मा ६,४६१ नयाँ नागरिकता जारी गरिएको छ। तीमध्ये १०२ जनाले आमाको नामबाट, ४० जनाले वैवाहिक अङ्गीकृत, र ४ जनाले गैर-आवासीय नागरिकता प्राप्त गरेका हुन्।

प्रशासन कार्यालयले ६,१३७ थान संशोधन रहित र ४,३३१ थान संशोधनसहितको नागरिकता प्रतिलिपि पनि वितरण गरेको छ। उक्त अवधिमा दुईवटा नागरिकता रद्द गरिएको छ भने ६ जनाले स्वेच्छाले नागरिकता परित्याग गरेका थिए।

कार्यालका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषयमा स्पष्ट पार्दै भनिन्, "बुवा पत्ता नलाग्ने प्रमाणित अवस्थामा मात्रै आमाको नाममा नागरिकता दिइएको हो।"

प्रशासनले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार गत आर्थिक वर्षमा कार्यालयले राहदानी, प्रशासनिक जरिवाना, हातहतियार लगायत शीर्षकबाट चार करोड २१ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सो अवधिमा ७,५३९ जनालाई राहदानी प्रदान गरिएको थियो।

त्यसैगरी, हालसम्म जिल्लामा ३६,००० वटा राष्ट्रिय परिचयपत्र कार्ड आएकोमा १२,००० कार्ड मात्र वितरण गरिएको जानकारी दिइएको छ। एक वर्षमा कार्यालयमा ११९ मुद्दा दर्ता भएका मध्ये १०७ मुद्दा फस्र्यौट भएका छन्।

जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार नवीकरण, राहत वितरण, बजार अनुगमन तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यहरूको समेत समिक्षा गरेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार