४८ घण्टामै ‘अप्रेसन च्यालेन्ज’ सफल : ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सअ्याप ग्रुप बनाएर हत्या

विहीबार, १६ असोज २०८२

वीरगन्ज : दशैं मेलामा अष्टमीको राति भएको हत्या प्रकरणमा संलग्न सबैलाई पर्सा प्रहरीले २४ घण्टा नबित्दै नियन्त्रणमा लिएको दाबी गरेको छ।

भारततर्फ भागेका मुख्य आरोपीसहित दुई जनालाई सीमावर्ती भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ।

मङ्गलवार राति ११:३० बजे वीरगन्ज–१० गीता मन्दिर रोडमा दुई समूहबिच कुटपिट हुँदा बाराको परवानीपुर–९ का २० वर्षीय शिवम कुमार साह कानु (गोल्डेन)को मृत्यु भएको थियो।

उनको टाउकोमा फाटा प्रहार भएको सिसी क्यामेरा फुटेजमा देखिएको भए पनि मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने बताइएको छ।

प्रहरीले ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सअ्याप ग्रुप बनाएर युवाहरूले गोल्डेनको हत्या गरेको खुलासा गरेको हो।

पक्राउ परेका ५ जनामा मुख्य आरोपी वीरगन्ज–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल उर्फ करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।

तीमध्ये तीन जनालाई घटनाको राति नै पक्राउ गरिएको र बाँकी दुईलाई भारतको पश्चिमी चम्पारणस्थित बल्थर गाउँमा लुकेर बसेको अवस्थामा समातिएको प्रहरी उपरीक्षक सुदिप राज पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए।

यसअघि पनि समूहबिच झगडा भएको र त्यसकै रिस साँध्न गोल्डेनलाई हातमुक्का र बाँसको भाटा प्रहार गरेर हत्या गरिएको उनले बताए। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

घटनापछि प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा ३२ जनाको टोली खटिएको र अनुसन्धानबाट संलग्न थप व्यक्तिहरूको पनि पहिचान भइसकेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार