रोमानियाको होटलमा आगलागीमा मृत्यु हुने सोनी र सुस्मिता भएको पुष्टि

बुधबार, १५ असोज २०८२

रोमानिया : युरोपेली मुलुक रोमानियाको प्रहोभा जिल्लास्थित तातरानी सहरको ‘होटल डाले’ मा सोमबार बिहान भएको भीषण आगलागीमा दुई नेपाली युवतीले ज्यान गुमाएका छन्।

मृतकमा इलाम माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बू र काठमाडौँ दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङ रहेको पुष्टि भएको छ।

दुवै रोजगारीका लागि केही महिनाअघि मात्र रोमानिया पुगेका थिए। सोनी करिब एक वर्षअघि र सुस्मिता पाँच महिनाअघि पुगेका हुन्।

आगलागीमा घाइते भएकी इलाम चुलाचुलीकी सुमिना मगर स्थानीय अस्पतालमा उपचाररत छिन्। उनीहरू बस्ने कोठा होटेलकै माथिल्लो तलामा थियो।

म्याग्दी बेनीका नारायण विक, जो सोही होटेलमा पाँच वर्षदेखि काम गर्दै आएका छन्, उनका अनुसार बिहान करिब ७ बजे ठूलो आवाजसहित आगलागी सुरु भएको थियो।

केही समयमै प्रहरी र दमकलले आगो नियन्त्रणमा लिए पनि दुई युवतीको ज्यान जोगाउन सकिएन। “२ जनाकै शव पूरै जलेको अवस्थामा भेटियो। सोनी बहिनीले लगाएको सुनको लकेटले मात्र शवको पहिचान भयो,” विकले भने।

आगलागी विद्युत् सर्टका कारण भएको अनुमान गरिएको छ। उक्त होटललाई अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै प्रशासनले एक हप्ताअघि मात्रै बन्द गर्ने आदेश दिएको बताइएको छ।

रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयाँलले मृतकको शव नेपाल पठाउने र क्षतिपूर्तिका लागि रोमानियन सरकार तथा सम्बन्धित कम्पनीसँग पहल गर्ने जानकारी दिएका छन्।

हाल करिब ३० हजार नेपाली कामदार रहेको रोमानियामा नेपाल सरकारको दूतावास वा स्थायी कूटनीतिक संयन्त्र छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार