दुर्घटनापश्चात् नोबेल पुर्‍याइएका बेलबारीका अर्जुन : खुट्टा काट्न बहोस पारियो, होसमै आएनन्

बुधबार, १५ असोज २०८२

बेलबारी (मोरङ) : “ठिक हुन्छ भन्नुभएको थियो, तर किन एक्कासि बुबा बित्नुभयो ?” यो वाक्य बोल्दा सुनसरीको इटहरीमा बस्दै आएकी (चन्द्रमाया) सोया राईको आँखाबाट आँसु थामिन सकेन । अस्पतालले दिएको आश्वासनलाई उनले अझै विश्वास गर्न सकेकी छैनन् ।

६५ वर्षीय अर्जुनबहादुर राई, मोरङको बेलबारी–४, सप्तरङ्गी चोकका बासिन्दा, विगत पाँच वर्षदेखि निगुरो बेचेर परिवार धान्दै आएका थिए । यसअघि उनी रिक्सा चलाउने गर्थे । तर उमेर बढ्दै जाँदा रिक्सा छाडेर जङ्गलबाट निगुरो टिपी बजारमा बेच्ने उनका लागि जीविकोपार्जनको मुख्य आधार बन्यो ।

यस्तै क्रममा गत असोज १० गते बेलबारीकै लक्ष्मिमार्गमा सडक किनारमा निगुरो बेचिरहेका बेला उनी अनाहकमा दुर्घटनामा परे । काकडभिटाबाट आउँदै गरेको प्रदेश–१–००६ ख ५६५२ नम्बरको रकेट ट्राभल्स बसले ओभरटेक गर्ने क्रममा उनलाई ठक्कर दियो । सोहीक्षण अर्जुनबहादुरको जिन्दगीले अनपेक्षित मोड लियो ।

ठक्करपछि गम्भीर घाइते भएका राई बोलिरहेकै अवस्थामा अस्पताल पुर्‍याइएका थिए । तर, विराटनगरस्थित नोबेल अस्पतालको आपत्कालीन कक्षमा पुगेपछि चिकित्सकहरूले उनको खुट्टा तुरुन्तै काट्नुपर्ने निष्कर्ष निकाले ।

“बुबाको खुट्टा काटेपछि नै बाँच्नुभएन, बरु नकाटेको भए बाँच्नुहुन्थ्यो कि ?”  छोरी सोयाको यो प्रश्नले परिवारको पीडा अझ बढाइदिएको छ ।

खुट्टा काट्ने प्रक्रिया अघि बढाउँदा अर्जुनबहादुरलाई बेहोस पारियो । तर त्यसपछि उनी होसमा फर्कन सकेनन् । भेन्टिलेटरमा राखेर थप उपचार गरिए पनि अन्ततः उनको ज्यान बचाउन सकिएन ।

बुबाको अधुरो सपना बोकेर उनका छोराहरू अहिले कठोर यथार्थसँग जुधिरहेका छन् । जेठा छोरा डिकबहादुर ज्यालादारी गरेर जीवन गुजारिरहेका छन् भने कान्छा छोरा पूर्णबहादुर रोजगारीको खोजीमा भारतमा छन् ।

“बुबा सधैँ भन्नुहुन्थ्यो — म मेहनत गरेरै परिवारलाई सघाउँछु । तर उहाँको सपना अधुरै रह्यो,” जेठा छोरा डिकबहादुरले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार