सुनसरी : इटहरी–१२ खनारमा सोमबार राति आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा खोटाङ घर भएका ३० वर्षीय सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
उनले प्रारम्भिक बयानमा भनेका छन्, “पहिले नै मनमुटाव भएको र आवेशमा आएर मारेँ।”
दाहालले अनिशालाई टाउकोमा काठको बटमले प्रहार गरेका थिए। गम्भीर घाइते भएकी अनिशालाई उपचारका लागि विराट टीचिङ अस्पताल, विराटनगर लगिएको थियो, तर उपचारको क्रममा राति ९ः१५ बजे उनको मृत्यु भएको थियो ।
घटनापछि स्थानीयले सुमन दाहाललाई घटनास्थलबाट पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको थियो।
इलाका प्रहरी कार्यालय, इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए, “सुमनले साउन महिनादेखि श्रीमतीसँग सम्बन्ध चिसिएको बताए।
उनले भने, ‘मनमुटाव थियो, आवेशमा आएर घटना गरेँ। साउनको अन्तिमतिरदेखि हाम्रो सम्बन्ध चिसिएको थियो।’ डीएसपी हमालका अनुसार, “थप अनुसन्धानपछि घटनाको वास्तविकता स्पष्ट हुनेछ।”
प्रारम्भिक अनुसन्धान अनुसार, अनिशा पहिले इटहरी–२, हलगडामा कोठा भाडामा राखेर बस्दै आएकी थिइन्, तर अचानक खनारमा कोठा सारेर बस्न थालेकी थिइन्। सुमनले पछि मात्र यसबारे थाहा पाएपछि उनीहरूबीच विवाद भएको र त्यसै क्रममा घटना भएको हुनसक्ने प्रारम्भिक बयानमा उल्लेख छ।
अनिशा लोकसेवा तयारी गर्दै आएकी थिइन् र खनारमै रहेको पूर्वाञ्चल आइसक्रिम पार्लरमा काम पनि गर्ने गर्थिन्। परिवारका अनुसार, सुमन र अनिशाबीच मागी विवाह भएको थियो र सामान्यतया सम्बन्ध राम्रो थियो, तर पछिल्ला दुई महिनादेखि सम्बन्ध चिसिएको थियो।
सुमन खोटाङको रावाथुम प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुन् र समय–समयमा इटहरी–खोटाङ आवतजावत गर्दै आएका थिए। पोस्टमार्टमपछि मृतकको शव आफन्तको जिम्मा लगाइएको छ।
प्रतिक्रिया